यस वर्षको दशैँको मुखमा र तिहारलाई स्वागत गर्ने तयारी हुँदै गर्दा आकाशले भने अर्कै मुड देखायो । असोजको सुरुवाती दिनमै घनघोर बादल मडारियो । बर्सातले खेत, आँगन, बाटोघाटो मात्र भिजाएन साराको सपनाका बारीहरु पनि डुबायो । वर्षायाम सकिएर आउने भनिएको चैत बिसौनीको पानी फेरि असोजमा परेपछि किसानदेखि विद्यार्थी र शिक्षक सारा अलि तनावमा परे । गाउँका बाटो हिलाम्मे बने, कपडा सुकाउने ठाउँ थिएन । यस्तै अवस्थामा आएको बिदाले सुरुवातमा राहतभन्दा बढी चिन्ता दियो । “यो दशैँ त पानीमै बित्ने हो कि ?” भन्ने सोच पनि सबैको मनमा थियो ।

तर प्रकृतिको यही अनियमित लयले जीवनको पाठ पनि पढाउँछ । तनाव र चुनौतीपछि नै आनन्दको आकाश खुल्यो । दशैँको पर्सिपल्ट नै निलो आकाश मुस्कुरायो, अनि मन पनि उज्यालो बन्यो । भिजेको आँगन सुक्दै गर्दा मानिसको मुटुमा फेरि पर्वको उत्साह पलायो । यसरी प्रारम्भिक अव्यवस्थाबाट सुरु भएको दशैँले हामी सबैलाई सम्झायो बादलजस्तै तनाव अस्थायी हुन्छ तर त्यसपछि आउने उज्यालो स्थायी प्रेरणा बन्न सक्छ भनेर । यही भावनाबाट सुरु हुन्छ फुर्सदलाई फलदायी बनाउने हाम्रो यात्रा ।

नेपालको आकाशमा जब असोज र कात्तिकको शीतल हावा बहन्छ, पहाडका रूखहरू पातहरू फेर्छन्, खेतका धान सुनको झल्को दिन्छन् अनि गाउँ–सहर हर्षोल्लासले भरिन्छन् । यही समय हो दशैँ र तिहारको । विद्यालयका झ्याल–ढोका केही समयका लागि बन्द हुन्छन् तर त्यो मौनता केवल विश्रामको होइन, चेतनाको पुनर्जागरणको प्रतीक हो । शिक्षक र विद्यार्थी दुवैको जीवनमा यो बिदा केवल आरामका दिन होइनन्, आत्मविकास, पारिवारिक एकता र सृजनात्मक सोच जगाउने सुन्दर अवसर हुन् ।

बिदा भन्ने शब्द सुनिँदा धेरैलाई आराम, निद्रा र घुमफिरको अनुभूति हुन्छ तर हरेक बिदा केवल सुस्ताउने समय मात्र होइन जीवनलाई पुनः सन्तुलित गर्ने अवकाश पनि हो । दशैँ र तिहार नेपाली समाजको सांस्कृतिक मेरुदण्ड हुन् जहाँ श्रद्धा, प्रेम, मेलमिलाप र सहअस्तित्वका बीउहरू उम्रन्छन् । विद्यार्थीले विद्यालयको अनुशासन र पाठ्यक्रमको घेराबाट केही क्षण बाहिर निस्किएर परिवार र समाजसँग पुनः सम्बन्ध गाँस्ने मौका पाउँछन् । शिक्षकले पनि वर्षभरि शिक्षणको दौडधुपबाट विश्राम लिएर आत्ममूल्याङ्कन गर्न पाउँछन् ।

बिदा भनेको समयको स्थिरता होइन, समयको सुन्दर प्रयोग पनि हो । जसरी खेतमा बीउ रोपिसकेपछि किसानले केही समय माटोलाई आराम दिन्छन् त्यसरी नै बिदा पनि मस्तिष्क र मनलाई ताजगी दिने अवकाश हो जसबाट फेरि नयाँ ऊर्जा उत्पन्न हुन्छ ।

विद्यार्थी जीवन समुद्रमा जहाज हाँक्ने यात्राजस्तै हो जहाँ कहिले आँधी आउँछ, कहिले शान्त लहर । दशैँ र तिहारको बिदा त्यही यात्रामा विश्राम दिने बन्दरगाह हो । यस अवधिमा विद्यार्थीले आफूलाई चिन्ने, आफ्ना रुचि र क्षमता पहिचान गर्ने समय पाउँछ ।

सबैभन्दा पहिला विद्यार्थीले अध्ययनलाई पूर्ण रूपमा रोक्नु हुँदैन । बिदा अध्ययनको शत्रु होइन, अवसर हो । पाठ्यपुस्तक मात्र होइन, साहित्यिक कृति पढ्दा सोचको दायरा फराकिलो हुन्छ । लघुकथा, आत्मकथा, कविता वा निबन्ध पढेर उनीहरूले शब्दको सुगन्ध र विचारको गहिराइ महसुस गर्न सक्छन् । कहिलेकाहीँ एउटा पुस्तकले जीवनको दृष्टिकोण नै परिवर्तन गरिदिन्छ ।

यति मात्र होइन, विद्यार्थीले लेखनको अभ्यास पनि गर्नुपर्छ । बिहानको सुनसान समय, जहाँ कोइलीको मधुर स्वर र पवनको सुस्केरा मिसिन्छ त्यही बेला आफ्नो विचारलाई कापीमा उतार्दा मन हलुका हुन्छ । “आज म के सोच्दै छु ?” भन्ने प्रश्नले नयाँ निबन्ध, कविता वा डायरी जन्माउन सक्छ । यही सृजनशीलता भविष्यमा जीवनको दिशा देखाउने आधार बन्छ ।

शारीरिक रूपमा पनि विद्यार्थी निष्क्रिय हुन हुँदैन । पर्वको समयमा गाउँमा चेस, लुडो, क्यारेमबोर्ड, भलिबल, फुटबल जस्ता खेलहरू खेल्दा केवल मनोरञ्जन मात्र होइन, आत्मविश्वास र सामूहिक भावना पनि बढाउँछ । खेलले ‘हार र जित दुवै स्वीकार्ने’ जीवनदर्शन सिकाउँछ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको विद्यार्थीले परिवारसँग समय बिताउनुपर्छ । आमाबुबासँग कुरा गर्दा, हजुरबुबा, हजुरआमाको पुराना कथाहरु सुन्दा वा दाजुभाइसँग गफिँदा जीवनका मूल्यहरू बुझ्न सकिन्छ । बिदा केवल पढाइका लागि होइन, सम्बन्धको पुनर्निर्माणका लागि पनि हो ।

त्यस्तै विद्यार्थीले आफ्नो घर र वरपर सरसफाइमा पनि हात लगाउन सक्छन् । दशैँ र तिहार सफाइ र उज्यालोको पर्व पनि हुन् । आँगन फाड्ँदै, बाटाहरु सफा गर्दै, बत्ती टल्काउँदै गर्दा मन पनि उज्यालो हुन्छ । यस्तो कामले “म पनि परिवारको अङ्ग हुँ” भन्ने अनुभूति दिन्छ ।

शिक्षक समाजका दीप हुन् तर दीप पनि कहिलेकाहीँ मैन पग्लिएर सानो हुन्छ । बिदा त्यो समय हो जब दीपले फेरि आफ्नो ज्योति पुनःस्थापित गर्न सक्छ । वर्षभरि विद्यार्थीका प्रश्न, पाठ्यक्रमका दवाब र विद्यालयका जिम्मेवारीले व्यस्त शिक्षकका मनमा पनि थकान जम्न सक्छ । दशैँ–तिहारको अवकाशले त्यो थकान पगाल्छ र नयाँ उत्साह जगाउँछ ।

शिक्षकले यस समयमा आफ्नो शिक्षण शैलीको आत्ममूल्याङ्कन गर्न सक्छन् । कुन विधि सफल भयो, कुन विषय विद्यार्थीलाई बुझ्न कठिन भयो ? यी प्रश्नमा आत्म संवाद गर्नाले आगामी वर्षका लागि स्पष्ट दृष्टि मिल्छ । पुस्तकहरू, अनुसन्धानात्मक लेख वा नयाँ शिक्षण पद्धतिबारे अध्ययन गर्न सकिन्छ ।

साथै शिक्षक पनि सर्जक हुन् । उनले आफ्ना अनुभव र भावनालाई लेखमार्फत अभिव्यक्त गर्न सक्छन् ः कविता, निबन्ध वा बालसाहित्यका रूपमा । यस्ता लेखनले शिक्षणलाई पनि संवेदनशील बनाउँछ । आखिर जुन शिक्षक शब्दमा बाँच्न सक्छ, उसले जीवनमा पनि गहिराइ अनुभव गर्न सक्छ ।

अर्को पक्ष भनेको बिदामा शिक्षकले विद्यार्थीका लागि सिर्जनात्मक योजना बनाउन सक्छन् । विद्यालय खुल्नेबित्तिकै सञ्चालन गर्न सकिने कविता प्रतियोगिता, पुस्तक परचिर्चा, साहित्यिक गोष्ठी वा सामुदायिक सेवा कार्यक्रमको तयारी यसै अवधिमा गर्न सकिन्छ । यसरी बिदा केवल विश्राम नभई योजना निर्माणको समय पनि हो ।

दशैँले धैर्य, विजय र सहनशीलताको पाठ पढाउँछ भने तिहारले प्रेम, भाइचारा र उज्यालोको सन्देश दिन्छ । यी पर्वहरूले मानिसलाई बाह्य र आन्तरिक रूपमा दुवै सुधार गर्छन् । विद्यार्थी र शिक्षक दुवैले यी पर्वका मूल्यहरू जीवनमा उतार्नुपर्दछ ।

दशैँका टीकामा लुकेको आशीर्वाद केवल दीर्घायूको कामना मात्र होइन जिम्मेवारीको बोध पनि हो । त्यो रातो टीका र जमराले “ज्ञान र सदाचारको बाटोमा अघि बढ” भन्ने सन्देश दिन्छ । तिहारमा बहिनीले भाइको ललाटमा टीका लगाउँछिन् जुन केवल दाजुभाइको प्रेम होइन, परिवारको समग्र माया र सम्बन्धको प्रतीक पनि हो । यी भावनाहरू विद्यार्थी र शिक्षक दुवैले आफ्ना दैनिक जीवनमा भित्र्याउनुपर्दछ अनि मात्र बिदाको अर्थ अझ गहिरो बन्छ ।

पर्वका गीत, माला, दियो र दीप जसरी अँध्यारो हटाएर दियोले प्रकाश दिन्छ त्यसरी नै ज्ञानले अज्ञान हटाउँछ । त्यसैले शिक्षक र विद्यार्थी दुवैले यस बिदामा ज्ञानको दीप प्रज्वलित राख्नुपर्छ पढेर, लेखेर, सोचेर, अनुभव गरेर ।

बिदामा सबभन्दा ठूलो चुनौती हो समय व्यवस्थापन । फुर्सदलाई खेर फाल्ने प्रलोभन पनि त्यत्तिकै ठूलो हुन्छ । बिहान अबेर उठ्ने, मोबाइलमा घण्टौँ बिताउने वा उद्देश्यविहीन घुमफिरमा समय खपाउने बानीले बिदालाई निस्तेज बनाउँछ । त्यसको सट्टा बिहान सूर्योदयसँगै उठ्ने, दैनिक तालिका बनाउने, पढाइ, सृजनात्मक काम र पारिवारिक कार्यको सन्तुलन मिलाउनाले बिदालाई सार्थक बनाउँछ ।

समयको सदुपयोग भन्नाले हरेक क्षणलाई कुनै न कुनै सिर्जनामा रूपान्तरण गर्नु हो । उदाहरणका लागि, बिहान आधा घण्टा पुस्तक पढ्ने, दिउँसो घरको काममा सहयोग गर्ने, साँझ आत्मपरामर्श लेख्ने यी साना अभ्यासहरूले पनि ठूलो परिवर्तन ल्याउँछन् । शिक्षक र विद्यार्थी दुबैले यो सजगता अपनाए भने बिदा जीवनको पाठशाला बन्न सक्छ ।

बिदा केवल व्यक्तिगत विकासका लागि मात्र होइन, सामूहिक चेतनाको विस्तारका लागि पनि प्रयोग गर्न सकिन्छ । विद्यार्थी र शिक्षकले गाउँ वा समुदायमा साना सेवा–कार्य गर्न सक्छन् जस्तै ः सरसफाइ अभियान, वृक्षारोपण, वृद्धाश्रम भ्रमण वा सडक नाटक प्रदर्शन । यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश पु¥याउँछ र युवाहरूमा नागरिक उत्तरदायित्वको भावना जगाउँछ ।

त्यस्तै शिक्षकले सामुदायिक पुस्तकालय वा बालक्लबसँग सहकार्य गरी पढ्ने अभियान चलाउन सक्छन् । विद्यार्थीले साना बालबालिकालाई अक्षर सिकाउन सक्छन् । ज्ञान बाँड्दा ज्ञान झन् बढ्छ यही बिदाको सार हो ।

दशैँ–तिहारको बिदा बाह्य हर्षोल्लासको मात्र होइन, आन्तरिक शान्तिको पनि समय हो । व्यस्त दिनचर्याबाट अलग भएर मनन ध्यानमा बस्दा आत्मा हलुका हुन्छ । बिहानको चिसो हावासँग सास मिलाउँदै ध्यान गर्दा, जीवनको वास्तविक सौन्दर्य महसुस गर्न सकिन्छ । शिक्षक र विद्यार्थी दुवैले यो आध्यात्मिक अभ्यासलाई आत्मविकासको भाग बनाउने हो भने उनीहरूको सोच र व्यवहारमा अद्भुत परिवर्तन आउँछ ।

समय नदीजस्तै बग्छ । जसले त्यसको प्रवाहलाई सम्झेर तैरिन जान्दछ, ऊ जीवनको किनारमा सफलता र शान्ति दुवै पाउँछ । दशैँ र तिहारको बिदा पनि त्यस्तै नदी हो, जसले जीवनमा उमङ्ग, ऊर्जा र आत्मपरिवर्तन ल्याउँछ ।

विद्यार्थीका लागि यो बिदा नयाँ प्रेरणा सङ्गाल्ने समय हो, जसले भविष्यको बाटो देखाउँछ । शिक्षकका लागि यो अनुभव र ज्ञानलाई नयाँ रूप दिनेको अवसर हो । दुबैका लागि यो आत्मचिन्तन र सृजनशीलताको ऋतु हो ।

अन्ततः, बिदाको अर्थ सुस्ताउनु होइन बाँच्ने तरिका पुनः सिक्नु हो ।

आफ्ना घर, परिवार, समाज र देशप्रति जिम्मेवारीबोध गर्दै, शिक्षकले ज्ञानको ज्योति झन् प्रज्वलित गर्नुपर्छ, विद्यार्थीले सपनाको बाटोमा दृढ कदम चाल्नुपर्छ । फुर्सदलाई फलदायी बनाउने रहर हरेक मनमा पलाओस् र हरेक दशैँ–तिहारले हामी सबैमा उज्यालो चेतनाको दीप जलाओस् ।