मतदाता नामावली दर्ता गर्ने क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली संकलन अभियान तीव्र बनेको छ । असोज ९ गते देखि सुरु भएको मतदाता नामावली दर्ता अभियानको पहिलो १० दिनभित्र ८०० भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार सोमबारसम्म मकवानपुरमा ८३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोमबार मात्रै १६८ जनाले आफ्नो विवरण दर्ता गराएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता गराउनेहरूमा अधिकांश २५ वर्ष मुनिका युवायुवती रहेका छन् ।

‘शैक्षिक संस्थाहरुमा बिदा भएको समयमा उमेर पुगेका विद्यार्थीहरु फुर्सदको सदुपयोग गर्दै मतदाता नामावली दर्तामा सक्रिय सहभागी भइरहेका छन्,’ उहाँले भन्नुभयो । निर्वाचन ढकालका अनुसार नयाँ दर्तासँगै पुराना विवरण सच्याउने, व्यक्तिगत विवरण अद्यावधिक गर्ने र स्थान परिवर्तनका कार्यहरु पनि एकैसाथ भइरहेको छ । निर्वाचन कार्यालयले यसपालिबाट अनलाइन प्रणाली पनि सुरु गरेकोले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनेको निर्वाचन अधिकृत ढकालको भनाई छ ।

‘नागरिकले घरमै बसेर अनलाइन फारम भरेर नाम दर्ता प्रक्रिया सुरु गर्न सक्छन् । तर अन्तिम चरणमा स्थानीय निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गर्नुपर्ने हुन्छ,’ उहाँले स्पष्ट पार्नुभयो ।

ढकालका अनुसार अब मतदाता नामावली दर्ता गर्न आफ्नै गृह जिल्ला पुग्नुपर्ने बाध्यता छैन । जसले पनि आफ्नो बसोबास क्षेत्रको नजिकको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृत ढकालले आगामी कात्तिक ३० गतेसम्म दर्ताको समयसीमा तोकिएको जानकारी दिँदै योग्य नागरिक सबैलाई निर्धारित अवधिभित्र आफ्नो नाम दर्ता गराइसक्न आग्रह पनि गर्नुभयो ।

२०७९ मंसिरमा सम्पन्न अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा दुईवटा संघीय निर्वाचन क्षेत्र रहेका थिए । त्यतिबेला जिल्लाभर कुल मतदाताको संख्या दुईलाख ९४ हजार ९१९ रहेको थियो । तीमध्ये महिला मतदाताको संख्या एकलाख ४४ हजार ९५९, पुरुष मतदाताको संख्या १ लाख ४९ हजार ९५४र अन्य मतदाताको संख्या ६ जना रहेका थिए ।

हाल सरकारद्वारा संशोधित मतदाता नामावली ऐन अनुसार अब निर्वाचन घोषणा भइसकेपछि पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस अनुसार १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकले निर्वाचनअघि आगामी कार्तिक ३० गतेसम्म नाम दर्ता गराउन पाउने छन् ।