हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा गुरुशिष्य पाठशाला सेमिफाइनल प्रवेश गरेको छ । हाँडीखोला यूथ क्लवलाई २–० गोलअन्तरले हराउँदै गुरुशिष्यले अन्तिम ४ मा स्थान पक्का गरेको हो । गुरुशिष्यले माया एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो भने हाँडीखोलाले बाई पाएको थियो ।
गुरुशिष्यलाई जिताउने क्रममा अभिषेक तामाङले दोस्रो हाफको १४ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको करिब अन्तिम मिनेटमा साजन पाख्रीनले अग्रता दोब्बर बनाए । म्यान अफ द म्याच गुरुशिष्यका अभिषेक तामाङ घोषित भए । आइतबारै भएको खेलमा मनहरी गाउँपालिका–५ नम्बर वडाले शान्ति सृजना युवा क्लवलाई २–१ गोलअन्तरले हरायो । मनहरी–५ ले दोस्रो हाफको ३ मिनेटमै २ गोल गरेको थियो । मनहरी–५ का पुस्कल गोले र समीर ठकुरीले गोल गरेका हुन् । शान्ति सृजनाको तर्फबाट साजन कटुवालले पेनाल्टीमार्फत गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । म्यान अफ द म्याच मनहरी–५ का पुस्कल गोले घोषित भए ।
कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार एक सय ५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । चैनपुर जेसीज मनहरीले आयोजना गरेको प्रतियोगितामा मकवानपुर र चितवनको गरी १३ टिमको सहभागिता रहेको छ ।
















