हेटौँडा : आज आइतबारबाट चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह सुरु हुने भएको छ । आयोजकले आइतबारबाट कात्तिक १ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागेको हो । आइतबार बिहान मनहरी गाउँपालिका–९, रजैयाचोकमा रक्तदान कार्यक्रम गरी जेसीज सप्ताहको सुरुवात गरिने जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार २७ गते सोमबार मनहरी गाउँपालिका ५ मा रहेको मदन आश्रित प्राविमा शैक्षिक सामग्री वितरण, २८ गते महेन्द्रकिरण मावि मनहरी–८ मा वक्तृत्वकला प्रतियोगिता, २९ गते बिहान जेसीज सदस्यको बीचमा जेसीजकै विषयमा हाजिरीजवाफ प्रतियोगिता, सोही दिन ईलाका प्रहरी कार्यालय मनहरीमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण र ३० गते मनहरी–४ मा विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता हुनेछ ।
जेसीजले प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने गरेको छ । चैनपुर जेसीज मनहरीले स्थापनाकालदेखि नै जेसीज कप फुटबल सँगसँगै जेसीज सप्ताह आयोजना गर्ने गरेको छ । मूल कार्यक्रम संयोजक मिलन ढुंगानाले समाजको आवश्यकता र जेसीजको प्राथमिकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम तय गरिएको बताउनुभयो ।
















