हेटौंडाः हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमको १९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
साधारणसभामा नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकसम्बन्धी हकको व्यवस्था गरे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरिएको थियो । अझै पनि विभिन्न परिस्थितिले गर्दा ज्येष्ठ नागरिक एकलरुपमा रहेका र बेसहारा भए पनि राज्यले व्यवस्थापनको जिम्मा नलिएको सहभागीहरुको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा आश्रमको अक्षय कोषमा रकम २६ लाख ९ हजार रुपैयाँ वृद्धि भएको जानकारी दिइएको छ । यो रकमसमेत जोडर कोषमा कुल रकम १ करोड ४ लाख ८० हजार रुपैयाँ जम्मा भएको आश्रमले साधारणसभामा जानकारी दिइएको हो । सो अवसरमा आश्रमलाई आर्थिकलगायतका सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । आश्रमलाई ६५ जनाले दश हजार रुपैयाँभन्दा बढीको नगद तथा जिन्सी सहयोग गरेको आश्रमले जनाएको छ ।
विसं २०६४ असोज १० गते स्थापित यस आश्रममा हालसम्म ९२ ज्येष्ठ नागरिकहरु आश्रित भइसकेको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ मा ५ जना ज्येष्ठ नागरिकहरु थप भएको उहाँले जानकारी दिनुभयो । ६० जना वृद्धवृद्धा रहन सक्ने बृद्धाश्रममा हाल ९ जना पुरुष र १४ जना महिला गरी २३ जना संरक्षणमा रहेका छन् । ओम वृद्धाश्रमका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका वडा नं २ का वडा सदस्य सुरज बर्तौला, ज्येष्ठ नागरिक संघका अध्यक्ष हरिप्रसाद सिग्देललगायत स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।
