विज्ञान र प्रविधिको विकासले विपद् पूर्वतयारीका प्रसस्त अवसर सिर्जना गरेको छ । विपद्को सम्भावित अवस्थालाई पूर्वअनुमान गरेर विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सकिने उदाहरण यो साता आम नेपालीले प्रत्यक्ष अनुभव गरेका छन् । सरकारले पूर्वतयारीमा देखाएको जिम्मेवारीपूर्ण भूमिकाले विपद्बाट क्षति न्यूनीकरणमा उल्लेखनीय काम गर्न सफल भएको हो । असोज १८, १९ र २० गते देशका अधिकांश भागमा भारी वर्षा हुने र त्यसले ठूलो जनधनको क्षति हुने अनुमान गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाको सूचनाका आधारमा सरकारले गरेको तयारी, अपनाएको सतर्कता र आफ्ना संयन्त्रलाई परिचालन गरेर नागरिकको जीउ–धन रक्षामा प्रशंसनीय कार्य गरेको छ ।
गएको वर्ष पनि मौसम पूर्वानुमान महाशाखाले सार्वजनिकरुपमा असोज १० गतेदेखि १२ गतेसम्म वर्षासँगै बाढी, पहिरोले जनधनको क्षति हुने पूर्वानुमान गरेको थियो । मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमानलाई सरकारले गम्भीरतापूर्व नलिएकै कारण ठूलो जनधनको क्षति पुग्न गयो । काठमाडौं उपत्यकाकै नदीमा मानिस बगे । काठमाडौं प्रवेश गर्नै लागेका सवारी साधन पहिरोले पुरिँदा सबै यात्रुको मृत्यु भयो । गत वर्ष असोज १० गतेपछिको विपद् अघि पनि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा यात्रुबस त्रिशुलीमा हराए । २५ भन्दा बढी यात्रुको शव नै भेटिएन ।
प्राकृतिक विपद्को जोखिम सधै भइरहन्छ । जोखिमको पूर्वानुमानलाई गम्भीरताका साथ लिएर सतर्कता अपनाउने हो भने क्षति कम गर्न सकिने कुरालाई यस वर्ष प्रमाणित गरेको छ । यद्यपि यस वर्ष पूर्वी नेपालको इलाम जिल्लामा भएको क्षति भने उत्तिकै हृदयविदारक छ । खासगरी पहाडी जिल्लामा आवास सुरक्षित स्थानमा नबनाउनु वा नहुनुको पीडा यस वर्ष इलामले व्यहारेको छ । यसमा पनि कहीँ न कहीँ राज्य नै जिम्मेवार छ । कम्तिमा सुरक्षित आवासको अधिकारलाई सुनिश्चित गर्ने गरी नागरिकको आवास सुरक्षित स्थानमा निर्माण गर्न प्रेरित गर्ने काम राज्यको हो । इलाममा मात्रै होइन, इलाममा जस्तै जोखिम नेपालका अधिकांश पहाडी तथा हिमाली जिल्लामा छ । हिमाल र पहाडमा पहिरोको जोखिमलाई गम्भीरताका साथ मूल्यांकन गरेर पहिरोको जोखिम भएको क्षेत्रमा आवासीय संरचना निर्माणलाई निषेध गर्न नागरिकलाई साथ र सहयोग गर्न सके इलामको घटना दोहोरिने छैन ।
विपद् आम विषय हो । त्यसैले यसको सामनामा पनि आम सरोकारवालाको जिम्मेवारीपूर्ण भूमिका जरुरी छ । यो वर्ष सरकार मात्रै जिम्मेवार हुँदा पनि धेरै जनधनको क्षति भएन । इलामको घटनालाई हेर्ने हो भने नागरिकस्तरबाट पनि सुरक्षित आवासको अवधारणालाई ध्यान दिएको भए यत्ति ठूलो क्षति व्यहोर्नु पर्ने थिएन कि भन्ने स्पष्टै छ । राज्य, नागरिक, नागरिक अगुवा, नीति निर्माता, सचेत समूह सबैले सुरक्षित आवासको अवधारणा प्रवद्र्धन गर्ने, विपद्सम्बन्धी जानकारी लिने, जोखिमबाट बच्न र बचाउन आवश्यक पूर्वतयारी र पूर्वसतर्कतामा गम्भीर भएर ध्यान दिने हो भने आगामी दिनमा हामी क्षतिलाई कम गर्न सकिने, क्षति नै नहुने अवस्थामा समेत पुग्ने अवसर रहन्छ । त्यसका लागि मौसम पूर्वानुमान महाशाखालाई थप शक्तिशाली र स्रोतसाधन सम्पन्न बनाई नागरिकस्थमा पर्याप्त सचेतना अभिवृद्धि गर्न सरकार थप जिम्मेवार हुनुपर्छ ।
















