Home मुख्य समाचार ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु

३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली र काभ्रे जिल्लामा आइतबार भएका विभिन्न घटनामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, पँधेराचौरमा मिनि ट्रकको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेर ४५ मिनेटको समयमा बा ५ ख २९५४ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा ६५ वर्षीय होम बहादुर घिमिरे गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घिमिरेलाई उपचारका लागि काठमाडौंस्थित केएमसि सिनामंगल अस्पताल लगिएको थियो । उपचारको क्रममा होमबहादुरलाई आइतबार बिहान १० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गाडी चालक मेलम्ची नगरपालिका–७, बस्ने ४० वर्षीय सिद्धी नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ राजापानीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई–१ मंगलचन्द्र १३ वर्षीय रबिन हायु रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा उनले खोर नजिकै पानी तान्ने मोटरको नाङ्गो तार छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिका–५ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनपाटन–४ बालाजोरका ३३ वर्षीय नेत्र बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । भुजेललाई चदाह खोला तर्ने क्रममा बाढीले बगाएको थियो । उनी बगाएको स्थानबाट करिब ४ सय मिटर तल ढुंगाको च्यापमा अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेको पनौती नगरपालिका–३ घिमिरे गाउँमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया ज्ञानी घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ७ बजेको समयमा पाखोबारीमा घाँस काट्ने क्रममा लडेर ज्ञानी घाइते भएकी थिइन् । ज्ञानीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा बिहान ९ बजेर ४० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Exit mobile version