Home मुख्य समाचार बलिदान खेर गए क्रान्ति नयाँ ढंगबाट उठ्छ

बलिदान खेर गए क्रान्ति नयाँ ढंगबाट उठ्छ

मूलुक बिषम परिस्थितिमा छ । जेनजीको आन्दोलनले सिर्जित नयाँ राजनीतिक कोर्सतर्फ मूलूक अघि बढ्न खोज्दैछ । तर, संवैधानिक जटिलता कायमै छ । जेनजीको माग एकातिर, अन्तरिम सरकार अर्कोतिर फर्केको छ । आन्दोलनको रापतापमा परिवर्तनको मुद्दा सम्बोधन गरिनु पथ्र्यो, त्यो हुन सकेन । अब संसदीय निर्वाचनबाट नयाँ बन्ने संसदले बल्ल संविधान संशोधनमार्फत् जेनजीको माग पूरा गर्न सक्ला । त्यसका लागि नयाँ युवाहरू निर्वाचनमार्फत् आउन जरूरी छ ।

देशमा सुशासन होस्, भ्रष्टाचारको अन्त्य होस् भन्नका लागि नै धेरै ठूलो जनधनको क्षति भयो । अहिले मुलुक राष्ट्रिय शोकमा डुबेको छ । यति नै बेला महान चाड दशैंले नेपालीहरुलाई छोपिसकेको छ । एकातिर राष्ट्रिय विपति र अर्कोतर्फ विजयादशमी चाडले नेपालीजनलाई चाड मनाउन पनि हम्मेहम्मे छ । नेपाल देशमा दुईवटा वर्ग छ, एउटा अति सम्भ्रान्त वर्ग जसको अधिनमा अर्थतन्त्रको ठूलो हिस्सा छ । अर्को वर्ग झन्झन् गरिब छ, ती आधारभूत आववश्यकताबाट पनि वञ्चित छन् । तथ्याङ्कअनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन् । यसको अर्थ प्रत्येक पाँच जना नेपालीमध्ये एक जना अझै पनि आधारभूत आवश्यकताहरू (खाना, कपडा, आवास, स्वास्थ्य, शिक्षा) पुरा गर्न सक्ने अवस्थामा छैनन् । हामी सरहका मुलुक विकासको फड्को मारिसक्दा पनि हामी जहाँको त्यहीँ छौं । देश नबन्नुमा अहिले देखिएका नेतृत्व दोषी छन्, यी चार दशकदेखि सत्तामै छन्, एउटै अनुहार त्यहि नेतृत्वले गर्दा देश दिनप्रतिदिन ओरालो यात्रातर्फ जाँदैछ । अव्यवस्था, भ्रष्टाचार, कुशासनको चरम असन्तोषको अभिव्यक्ति हो, जेनजी पुस्ताको आन्दोलन, यद्यपि नेपालको राजनीतिको आरोह अवरोहको आफ्नै इतिहास छ ।

बिभिन्न राजनीतिक कालखण्डहरूमा हरेक पुस्ताले आफ्नै संघर्षको छाप छोडेको छन् । दशकौँका आन्दोलन, राज्यको संरचनागत परिवर्तनका संघर्ष र व्यक्तिगत स्वतन्त्रता तथा सामाजिक न्यायको खोजीमा भएको आन्दोलनको इतिहास अतूलनीय छ । तर, आजको पुस्ता डिजिटल युगमा छन् । तसर्थ अहिले देखिएको चुनौती तात्विक फरक छ । आजको नयाँ पुस्ताले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र एआईजस्ता आधुनिक उपकरणमार्फत् सामाजिक–राजनीतिक चेतना जगाउँदैछ । यो पुस्ताले टिकटक र फेसबुकमा आह्वान गर्दा पनि लाखौँ मानिस सडकमा आउन सक्छन् । जेनजीहरूले सामाजिक सञ्जाल प्रयोग गरेर स्वतस्फूर्त मानिसलाई सडकमा उतारे, गाउँगाउँ गएर संगठन बनाउने, भातृसंगठन बनाउने, सक्रिय सदस्य छ भन्ने पार्टीहरूले जनताको मुद्दा सम्बोधन गर्न नसक्दा असान्द्रर्भिक हुँदारैछन् भन्ने देखियो । हात हातमा स्मार्टफोन बोक्ने पुस्ता यति अपडेट छ कि, उसको चेतनाको स्तर पनि धेरै माथि छ । उसले वर्तमान युगको प्रतिनिधित्व गरिरहेको छ । हिजोको पुस्ताले केहि गरेन भन्ने होइन, गरे । प्रजातन्त्रको लागि लडे, जेलनेल भोगे, उनीहरूले सामन्तवादसँग सिधा भिडन्त गरे, आन्दोलनको प्रत्येक मोर्चामा जीवनको जोखिम लिए । उनीहरूको सङ्घर्षले संरचनात्मक परिवर्तनको बाटो खोल्यो । तर, आजको जेन जी (जेड) र जेन अल्फा पुस्ता जहाँ डिजिटल संवाद र प्रविधि केन्द्रित छ, तिनले पुराना ढर्रा र शैलीलाई स्वीकार गर्न गाह्रो मान्छन् । यसैले अहिलेको पुस्ताले ल्याएको ‘पुस्तान्तरणवाद’, सामाजिक सञ्जाल, एआई र डिजिटल जीवनशैलीमा आधारित नयाँ मूल्य, सोच र व्यवहार, आजको राजनीतिक र सामाजिक परिदृश्यमा देखिएको यथार्थ चित्र हो ।

इतिहास हेर्दा पनि प्रत्येक ठूलो आन्दोलनले नयाँ शासन संरचना र संविधान निर्माणको बाटो खोलेको देखिन्छ । अफगानिस्तानमा २००१ पछि भएको आन्दोलन र शासन परिवर्तनपश्चात् २००४ को संविधान बनेको हो, जसले पहिलोपटक बहुदलीय प्रणाली, स्वतन्त्र प्रेस र महिलाको अधिकारलाई कानुनी मान्यता दियो । तर २०२१ मा तालिबान पुनः सत्तामा आएपछि त्यही संविधान खारेज भयो र शरिया आधारित शासन लागू गरियो । त्यसैगरी सिरियामा लामो गृहयुद्ध र आन्दोलनपछि २०२५ मा असद शासन समाप्त हुँदा पाँच वर्षको अस्थायी संविधान घोषणा गरियो, जसमा स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता, महिला तथा अल्पसंख्यक अधिकारलाई विशेष स्थान दिइएको छ । आन्दोलन र जनताको चाहना सम्बोधन नगरेसम्म वा संविधानमा आत्मसात नगरेसम्म संघर्ष चक्र दोहोरिन्छ ।

नेपालमै पनि यही इतिहास दोहोरिएको छ । २०४६ सालको जनआन्दोलनपछि कांग्रेस सत्तामा आयो र २०४७ सालको संविधानमार्फत् बहुदलीय प्रजातन्त्र स्थापित भयो । २०६२/६३ को जनआन्दोलनपछि माओवादी र सात दलीय गठबन्धन अगाडि बढे, राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणराज्य घोषणा भयो र २०७२ सालको संविधान जन्मियो । यसरी राजतन्त्रको अन्त्य पनि जनआन्दोलनकै बलमा भएको थियो ।

त्यसैले अहिलेको जेनजी आन्दोलन पनि यही शृङ्खलाको निरन्तरता हो । २०४६ मा कांग्रेस सत्तामा पुगेको हो, २०६२/६३ मा माओवादी सत्तामा पुगेका थिए भने अहिले २०८२ को जेनजी आन्दोलनले पनि नयाँ पुस्तालाई सत्तामा ल्याउने सम्भावना उच्च छ । आन्दोलन जसले नेतृत्व गर्छ, शक्ति पनि प्रायः त्यहीँकै हातमा पुग्छ भन्ने इतिहासले देखाएको छ । यही कारणले, अब बन्ने सरकार वा संसद्ले केवल अनुहार परिवर्तनमा सीमित नभई संविधान संशोधनमार्फत् शासन प्रणाली नै परिमार्जन गर्नुपर्छ ।

जनताको चाहना भनेको अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी (जनताले सिधै नेतृत्व रोज्ने व्यवस्था), संघीयताको खारेजी वा पुनर्विचार, भ्रष्टाचारमा शून्य सहिष्णुता र आजीवन कैद सजाय, २०४७ सालपछि सम्पत्ति कमाएका सबै उच्च पदस्थहरूको छानबिन, सानो आकारको संसद, सांसदलाई मन्त्री नबन्न दिने व्यवस्था र संवैधानिक निकायमा स्वतन्त्र, पारदर्शी र राजनीतिक प्रभावमुक्त नियुक्ति ।

यो पुस्ता भ्रष्टाचारको अन्त्य चाहन्छन् । उनीहरूको दृष्टिमा राजनीति केबल शक्ति र पदको माध्यम होइन, बरु सीधा जीवनसँग जोडिएको र सबैको भलो सुनिश्चित गर्ने माध्यम हुनुपर्छ । उनीहरू समाजमा असमानता घटोस्, वातावरणीय संकटको समाधान होस्, रोजगारी र शिक्षा समान रूपले उपलब्ध होस् र डिजिटल पहुँच सबैमा होस् भन्ने चाहन्छन् । यो पवित्र उद्देश्यलाई युगसापेक्ष रूपमा आत्मसात गर्नसक्नु पर्छ । बाजे पुस्ताको राजनीति दादागिरीलाई यो आन्दोलनले धराशायी बनाउन खोजेको हो । यिनका हठ र अहंकार यत्रो आन्दोलनको सफलतापछि पनि कायमै देखिन्छ । देशको मुहार फेर्न अब नयाँ गोरेटो कोर्नैपर्छ । जे जस्तो अवस्थामा भए पनि अहिले राजनीतिक मैदान खाली छ । बल जनताको कोर्टमा छ । चुनावबाटै पनि यथास्थितिको अन्त्य जनताको अभिष्ट हो । अब जनता पनि जागरूक हुन जरूरी छ । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधि चयन गर्ने पनि हो । हरेक पल्ट आन्दोलन हुने जनताको आंकाक्षा अपुरो रहने, नयाँ सत्ताले पुरानो सत्ताको पदचिन्ह पछ्याउने चक्र अब तोडिनुपर्छ । बाजेपुस्ता असान्द्रर्भिक भए । छोरा पनि बा रिसाउँछन् कि भनेर कहिले गलतको बिरोध गर्न सकेन । धेरै टाढा जानैपरेन केपी, प्रचण्ड, शेरवहादुर सम्मलाई तपाईंहरू बिश्राम लिनुस् भन्न नसक्ने दास कार्यकर्तालाई जेनजीहरूले गतिलो झापड हानेकै हुन् । गगन, विश्वप्रकाशहरू हामीले गर्न खोजेको हो भन्दै लाचारी प्रदर्शन गर्दैछन् । तसर्थ देशको पुनर्निर्माण गर्ने ऐतिहासिक बेला हो यो । यो समयलाई चिनौं, जनताको बलबाटै नयाँ नेपाल बनाउनु छ, राष्ट्रिय स्वाभिमान र स्वाधिनता जोगाउँदै देशलाई शिरमा राखौँ ।

Exit mobile version