हेटौंडा : अस्पतालमा प्रसुति गराएर आमा बनेका मध्ये ८ प्रतिशत २० वर्ष मुनिका किशोरी रहेका छन् । एक वर्षको अवधिमा हेटौंडा अस्पतालमा प्रसुति सेवा लिनेहरुमा ८ प्रतिशत किशोरी पाइएका हुन् ।

आर्थिक वर्ष २०८१/०८२ मा हेटौंडा अस्पतालबाट २ सय ४० जना २० वर्ष नपुगेका किशोरीले प्रसुति सेवा लिएर आमा बनेका छन् । अस्पतालमा एक बर्षभित्र ३ हजार १ सय २९ जना महिलाहरुले सुरक्षित सुत्केरी सेवा लिएकामध्ये २ सय ४० जना अर्थात् करिब ८ प्रतिशत २० बर्षमुनिका रहेका हुन् ।

हेटौंडा अस्पतालमा धेरैजसो मकवानपुर र बारा जिल्लाका ग्रामीण क्षेत्रबाट २० वर्ष नपुगेका गर्भवती महिलाहरु सुरक्षित सुत्केरी सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । केटा र केटी दुबै २० वर्ष नपुगी विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि २० वर्ष नपुग्दै आमा बन्नेको संख्या उल्लेख्य हुनुले विभिन्न समस्या निम्त्याउने गरेको छ ।

हेटौंडा अस्पतालमा गत भदौ महिनामा २ सय ७९ जना महिलाहरुले सुत्केरी सेवा प्राप्त गरेकोमा १९ जना २० वर्षमुनिका महिलाहरु पाइएको अस्पतालको मेडिकल रेकर्डिङ शाखाले जनाएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती हँुदा आमा र बच्चा दुबैको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै २० वर्ष उमेर पुगेपछि मात्र गर्भधारण गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।