हेटौँडा : बागमती प्रदेश सरकारले बागमती प्रदेश इलाका प्रहरी कार्याल, उपत्यका प्रहरी र उपत्यका ट्राफिक प्रहरीका लागि ८५ वटा २ पांग्रे सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा बागमती प्रदेश प्रहरी अन्तर्गतका सवारी साधनमा ठूलो क्षति पुगेपछि सुरक्षामा चुनौती सिर्जना भएको भन्दै ती सवारीसाधन उपलब्ध गराउने भएको प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार चाडपर्वको बेला सुरक्षा संवेदनशील हुने भएकाले इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरी कार्यालयका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी जम्मा ८५ वटा दुई पांग्रे सवारी साधन उपलब्ध गराइने भएको हो ।
मन्त्री तामाङले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरीका सवारी साधनले सेवा प्रवाह प्रभावित भएकाले नयाँ सवारी साधन वितरणपछि सुरक्षामा सहज हुने अपेक्षा गरिएको बताउनुभयो ।
प्रदेश सरकारले दिएको यी सवारी साधन तत्कालै सम्बन्धित इकाइमा पठाइने र विशेष गरी दशैं, तिहारलगायतका चाडपर्वमा सुरक्षा व्यवस्थामा खटाइने मन्त्री तामाङको भनाई छ ।










