नेपालको पहिलो राजमार्ग निर्माण भएको करिब ७ दशक भयो । यसबिचमा देशभर सडक सञ्जाल निर्माण गर्ने क्रम चलिरहेकै छ । पछिल्ला वर्षहरुमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले सडक निर्माण तथा स्तरीकरणलाई तिब्रता दिइरहेकै छन् । अहिले देशका सबै ७७ वटै जिल्ला राष्ट्रिय राजमार्गबाट जोडिइसकेका छन् । देशभर राष्ट्रिय राजमार्गमा सूचीकृत सडक ८० वटा छ, जसको लम्बाई १५ हजार किलोमिटर रहेको छ । प्रदेश र स्थानीय सडक पनि त्यत्तिकै निर्माण भएका छन् । देशभर यति धेरै सडक खनिए पनि सहजरुपमा सवारी सञ्जालनका लागि गुणस्तरीय र भरपर्दो सडक निकै कम रहेको छ । सडक यातायात निर्वाध सञ्चालनको व्यवस्था गर्न सरकार दूरदर्शी देखिन सकेको छैन ।

केही दिनदेखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बन्दा धेरैले दुःख पाइरहेका छन् । उक्त सडकखण्डको तुइनखोलामा पटकपटक पहिरो खसेर यातायात अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौंको लाइफलाइन नै बन्द हुन पुगेको छ । २०३६ सालमा पूर्व–पश्चिम राजमार्गलाई काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गसँग जोड्ने मुग्लिन–नारायणगढ खण्डको निर्माण गरिएको हो । झण्डै चार दशकसम्म एक लेनमै यातायात सञ्चालन भइरहेको उक्त सडकलाई २०७२ सालबाट दुई लेनमा विस्तारको काम सुरु गरिएको थियो । तीन वर्षभन्दा बढी समय लगाएर सडक विस्तारको काम सम्पन्न गरेपछि फेरि पुल फराकिलो बनाउने काम भयो । सडक विस्तारको क्रममा खोतलेको भित्तो सेट नहुँदै केही पुल निर्माण गर्न पहाड नै भत्काइएपछि पहिरोको जोखिम झनै बढेको छ ।

पहिरो खसेर ४० घण्टाभन्दा बढी सडक अवरुद्ध भएको चार दिन नबित्दै अझ ठूलो पहिरोले मुग्लिन–नारायणगढ सडक दुई दिनदेखि पूर्ण अवरुद्ध छ । यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी तथा पश्चिम तराईबाट काठमाडौं जाने आउने सवारी साधनको चाप हेटौंडा भएर काठमाडौं जाने सडकहरुमा परेको हो । दशैं सुरु भइसकेको कारण सडकमा सवारी साधनको चाप यसै पनि बढिरहेको अवस्थामा राजधानीको लाइफलाइनको रुपमा मानिएको सडक लामो समय अवरुद्ध हुँदा वैकल्पिक सडकमा सवारी चाप बढेको छ । त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडक प्रयोग गर्ने सवारी साधनको संख्या बढेको छ । उसै पनि साँघुरा यी सडकमा सवारी चाप बढ्दा लामो समय जाम हुने समस्या बढेको छ ।

देशको पूर्व–पश्चिम दुबैतिरबाट आउने ठूला यात्रुबाहक र मालबाहक सवारी काठमाडौं जानका लागि यो खण्ड नै एकमात्र विकल्प हो । यसको विकल्पमा बिपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ र कुलेखानी, भीमफेदी हुँदै जाने सडक भए पनि सबै सवारी सञ्चालन हुन सक्ने अवस्थाका छैनन् । ३४ किलोमिटर दुरीको एउटा सडकखण्ड अवरुद्ध हुँदा राजधानी काठमाडौं र देशका अधिकांश भूभागसँगको यातायात प्रभावित हुनुले देशको सडक विकासमा सरकार अदूरदर्शी बनेको प्रष्ट हुन्छ । दशकौंदेखि मुग्लिन–नारायणगढ सडकको विकल्पबारे बहस र चर्चा भइरहँदासमेत सरकार कानमा तेल हालेर बस्नु चरम लापरबाही समेत हो ।