हेटौँडा : हेटौँडा–१९, बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
सोमबार दिउँसो १ बजेर १० मिनेटको चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर अचानक पड्किँदा बस अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । सोही क्रममा उक्त ट्रक पुनः अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी बस र ट्रकमा सवार ३१ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको हेटौँडा अस्पताल र हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २ जना गम्भिर र अन्य घाइते मध्यम तथा सामान्य रहेका छन् भने घटनाबारे थप अनुसन्धान भई रहेको डिएसपी अर्यालले जानकारी दिनुभयो ।
