हेटौँडा : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको हेटौँडा शाखाले दशैं लक्षित सुपथ मूल्यसहित खाद्य सामग्रीहरु बिक्रि वितरण सुरु गरेको छ । नेपाली हिन्दुहरुको महान पर्वहरु दशैं, तिहार तथा छठको अवसरमा सुपथ मुल्यमा सामानहरुको बिक्रि वितरण सुरु गरेको हो ।
कर्पोरेसनले यस वर्षका लागि भदौ ३० गतेदेखि नुन, तेल र गहुँ लगायत अन्य प्रकारका पिठोहरु बिक्रि वितरण सुरु गरेको छ । कर्पोरेसनले नुन प्रतिकेजी प्याकेटको २४ रुपैयाँ मुल्य तोकेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ७ रुपैयाँ छुटसहित ३ सय ४८ रुपैयाँमा उपलब्ध गराइएको जनाएको छ । गहुँको पिठो तथा मैदामा भने बजारमूल्यमा ७ रुपैयाँ छुट दिने पनि जानकारी दिइएको छ । सुपथ मूल्य पसलमा प्रतिव्यक्ति नुन ६ केजी तथा तेल ५ लिटर र पिठो ५ किलोसम्म खरिद गर्न पाउनेछन् ।
अघिल्ला वर्षहरुमा कर्पोरेसनले बजारभन्दा सुपथ मूल्यमा चिनी पनि उपलब्ध गराउँदै आएकोमा यस वर्ष भने चिनी उपलब्ध हुने सम्भावना कम भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका शाखा प्रमुख मधुसुदन अधिकारीले जानकारी दिनुभयो । यस वर्ष पनि सुपथ मूल्य पसल हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको कर्पोरेसनको कार्यालयमा नै सञ्चालन गरिएको छ । केही वर्ष अघिसम्म यो सुपथ मूल्य पसल हेटौँडा बजारको खोपेगल्लीमा सञ्चालन हुँदै आएकोमा इलेक्ट्रोनिक्स बिलिङ प्रक्रियाबाट बिक्री वितरण गर्नुपर्ने भएकोले जनशक्ति तथा स्रोतसाधनको अभाव भएकोले यस वर्ष पनि कार्यालय परिसरबाटै सुपथ मूल्य पसल सञ्चालन हुने प्रमुख अधिकारीको भनाइ छ ।











