हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएका १८ वर्षीय सोम बहादुर घलान मृत फेला परेका छन् । बागमती गाउँपालिका–१, माझगाउँ खेस्रेखोला टोलका घलान आफ्ना बुबा ४८ वर्षीय गुञ्जमान घलानसँग असोज १ गते दिउँसो साढे ३ बजे बागमती खोलामा माछा मार्न गएका थिए ।
माछा मार्ने क्रममा खोलाले सोम बहादुर घलानलाई बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएका घलान शुक्रबार बिहान ९ बजेको समयमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–४, गडैयाघाटस्थित बागमती खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले शव प्रादेशिक अस्पताल गौरमा राखेको थियो । मृतकका दाइ राज घलानले शनिबार प्रादेशिक अस्पताल गौर पुगेर सोमबहादुरको शव भएको पुष्टि गरेका थिए । सोमबहादुरको शव परिवारको शनिबार साँझै ल्याइसकेको प्रहरीले जनाएको छ ।











