
हेटौँडा : जेन जी युवाको आन्दोलनको क्रममा बागमती प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय जलेर नष्ट भयो । आन्दोलनको क्रममा सो मन्त्रालय अन्तर्गतका कार्यालयहरुमा साढे ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हेटौँडा–१ स्थित चौकीटोलमा रहेको मन्त्रालय जेन जी युवाको आन्दोलनको क्रममा प्रदर्शनकारीले आगो लगाउँदा जलेर नष्ट भएको थियो । मन्त्रालयका प्रवक्ता भुपेन्द्र कुमार यादवका अनुसार आगलागीका कारण मन्त्रालयको ४ वटा कोठा बाहेक सबै जलेको छ । एउटै भवनमा रहेका ४ मन्त्रालय जलेर नष्ट हुँदा सोही भवनमा रहेको साढे २ तलामा रहेको भौतिक मन्त्रालय पनि जलेर नष्ट भएको छ । भुइँ तलाको आधार तथा पहिलो र दोस्रो तलामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको अधिकांश कोठा र कागजात जलेका उहाँले बताउनुभयो । सो मन्त्रालयको दक्षिण तर्फको २ र पूर्व तर्फको एक कोठा मात्रा जल्नबाट जोगिएको उहाँको भनाई छ ।
मन्त्रालय अन्तर्गतका ४ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ । मन्त्रालयका प्रवक्ता यादवका अनुुसार मन्त्रालयसहित पूर्वाधार कार्यालय चितवन, शहरी विकास तथा भवन कार्यालय मकवानपुर, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना हेटौँडामा क्षति पुगेको हो । मन्त्रालय, चितवन, मकवानपुर, ललितपुरको कार्यालय तोडफोडसहित जलाइएको उहाँले बताउनुभयो । आन्दोलनका क्रममा मन्त्रालय अन्तर्गतका ४० वटा सवारी साधन जलाइएको उहाँको भनाई छ । जसमा ५ वटा गाडीहरु (चार पांग्रे सवारी) रहेको छ भने ३५ वटा सरकारी तथा निजी मोटरसाइकल, स्कुटरहरु रहेका छन् ।
सहरी विकास कार्यालयबाट काम थाल्ने तयारी
मन्त्रालयले तत्कालिन अवस्थालाई मध्यनजर गर्दै अस्थायी रुपमा मकवानपुरको सहरी विकास तथा भवन कार्यालयबाट काम थाल्ने तयारी गरेको छ । सोही अनुसार मन्त्रालयको सचिव इश्वचन्द्र मरहठ्ठाको नेतृत्वमा कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको छ । सचिव मरहठ्ठाका अनुसार अस्थायी रुपमा सहरी विकास तथा भवन कार्यालयको नयाँ निर्माणाधिन कार्यालयको एउटा भवनबाट सेवा प्ररम्भ गर्ने गरी तयारी भएको छ ।
उक्त भवनमा पनि आन्दोलनको क्रममा तोडफोड भएकोले हाल सोको व्यवस्थापनको काम भइरहको उहाँले बताउनुभयो । भवन मर्मतको काम थाल्ने र तत्काल सेवा सुचारु गर्ने तयारीमा मन्त्रालय रहेको उहाँको भनाई छ । हाल मन्त्रालयको जल्नबाट बाँकी रहेको फर्निचर तथा कागजातहरु ल्याएर व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो । कर्मचारीहरुका लागि आवश्यक कक्षहरु व्यवस्थापन गर्न र उपकरणहरुको व्यवस्थापन कार्य भइरहेको बताइएको छ ।
क्षतिको विवरण संकलन तथा भवन जाँचका लागि समित गठन
मन्त्रालयले प्रादेशिक कार्यालयहरुको क्षति विवरण संकलन तथा भवनको मापदण्ड निर्धारणका लागि एक समिति गठन गरेर काम थालेको छ । मन्त्रालय अन्तर्गतको कार्यालयहरु सदस्य रहने गरी प्रदेशका १३ जिल्लाका प्रादेशिक कार्यालयहरुको क्षति मूल्यांकन तथा मापदण्ड जाँचका लागि सो समिति गठन गरिएको प्रवक्ता यादवले बताउनुभयो । प्रवक्ता यादवका अनुसार सो समितिमा विज्ञ समूहका २ जना सदस्य रहने व्यवस्था रहेको छ ।
प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपभोग गर्ने र अतिआवश्यक अवस्थामा मात्र विज्ञ तथा अन्य स्रोतबाट सहयोग लिने गरी सो समितिले अध्ययन थालेको उहाँले बताउनुभयो । समितिको सदस्यमा मन्त्रालयको आवास तथा भवन पूर्वाधार महाशाखाका प्रमुख रहने समेत व्यवस्था रहेको छ । उक्त समितिले १३ जिल्लाका प्रादेशिक कार्यालयहरुको पूर्वाधार तर्फको क्षति संकलन गरेर भवनहरु बस्न वा प्रयोग गर्न अनुकुल भए नभएको जाँचसहित प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदन ७ दिनमा पेश गर्ने गरी निर्देशन गरिएको छ भने उक्त प्रतिवेदनका आधारमा प्रदेशको सचिवस्तरीय बैठकले माग गरे अनुसारको प्रतिवेदन तयार गरी पुनः निर्माणका लागि पेश हुनेछ ।










