विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरिँदैको तस्वीर ।

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित पाँच माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

मंगलबार गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भवानी माध्यमिक विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितिमा विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको थियो । विद्यालय स्तरबाटै फुटबल खेलका खेलाडीहरु उत्पादन गर्न सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका सहायक कार्यक्रम संयोजक पूजा राना मगरले बताउनुभयो ।

गाउँपालिकाको भवानी माविसँगै वडा नम्बर ६ मा रहेको व्यास माध्यमिक विद्यालय, वडा नम्बर २ मा रहेको कमलादेवी माध्यमिक विद्यालय, वडा नम्बर १० मा रहेको रत्नज्योति माध्यमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कालिका माध्यमिक विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । कैलाशका ५ वटा विद्यालय छनौट गरी संस्थाको कार्ययोजना अनुरुप सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

सबै विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, ६ वटा फुटबल र ३० थान जर्सी हस्तान्तरण गरेको सहायक कार्यक्रम संयोजक रानाले जानकारी दिनुभयो । विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने हेतुले सामग्री प्रदान गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मुक्तानले विद्यालयलाई सामग्री हस्तान्तरण गरेसँगै सामग्रीको सदुपयोग गरी खेलाडी उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । उहाँले संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्यका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।