भर्चुअल माध्यमबाट गरिएको बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलको बैठकले जेन जी आन्दोलनका क्रममा भएको क्षती प्रति दुःख व्यक्त गरेको छ । मंगलबार मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको बैठकले हालै देशमा घटेका विभिन्न घटनाक्रमबारे छलफल गर्दै सुशासनको माग राख्दै युवा पुस्ताले आयोजना गरेको ‘जेन जि’ प्रदर्शनको क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो ।

बैठकले प्रदर्शनको क्रममा भएका हिंसात्मक घटनाहरूको घोर भत्र्सना गरेको छ । बैठकले संघीय व्यवस्थापिका, प्रदेश सभा, कार्यपालिका, न्यायलय, स्थानीय तहका भौतिक संरचना, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालयहरूमाथिको आगजनी तथा तोडफोडको निन्दा गरेको छ ।

साथै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

बैठकले देशको तत्कालीन राजनीतिक अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानवाद, राष्ट्रियता र लोकतन्त्रको मर्म बमोजिम मुलुकलाई निकास दिन खेलेको भूमिकाको प्रति कृतज्ञता ज्ञापन गरेको छ ।

बैठकले असोज ३ गते आउन लागेको संविधान दिवसलाई संविधानको सम्वद्र्धन र महत्व दर्साउने गरी संयमित ढंगले मनाउन सरकारलाई सुझाव दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न संसदीय दलका सदस्यहरुले नेतृत्वदायी भूमिका खेल्ने र सामाजिक अभियन्ताहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सभालाई प्रभावकारी बनाउन संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग संवादलाई घनिभूत बनाउने र संसदीय समितिहरुलाई थप क्रियाशील बनाउने निर्णय पनि गरेको छ ।