हेटौँडा : जेन जी आन्दोलनका क्रममा हेटौंडाको भाटभटेनी सुपर स्टोर जलेर खरानी बन्यो । जेन जी प्रदर्शन उग्र बन्दा देशका प्रमुख शहरमा रहेका सार्वजनिक सम्पत्तिमा प्रदर्शनकारीले आगो लगाउँदा जलेर पूर्ण रुपमा नष्ट हुँदा भाटभटेनी समेत जल्न पुगेको हो । भाटभटेनी जलेर ध्वस्त हुँदा हेटौँडा बजार क्षेत्र र आसपासका बालबालिका चिन्तित छन् ।
बालबालिकाका लागि एउटा आकर्षक गन्तव्य थियो भाटभटेनी । लत्ताकपडा किन्न, आइसक्रिम खान, स्केटेलर चडेर रमाइलो गर्न, साँझपख पानीको फोहरामा रमाउन, शितल हावा खान हेटौँडा–२, चौकीटोलस्थित भाटभटेनी बालबालिकासँगै अभिभावकका लागि रमणीय थियो । तर, यतिबेला भाटभटेनीको रुप देखेर विरक्त लाग्ने छ । भाटभटेनीको अधिकांश संरचनाहरु जलेका छन् । भटभटेनीका उपभोग्य सामग्रीदेखि भवन संरचनाका अधिकांश भाग खरानी बनेका छन् । प्रदर्शनको क्रममा भाटभटेनीमा आगलागीसहित प्रदर्शनका क्रममा चोरी डकैती र तोडफोड भएको थियो ।
अहिले बालबालिकाले भाटभटेनी जाउँ भनेर भन्यो भने अभिभावकले भाटभटेनी जलेको कुरा बताउँदा बालबालिका पत्याउँदैनन् । भाटभटेनी जलेको छ भनेर भन्दा बालबालिकाले कसरी जल्यो ? कसले जलायो ? कहिले जल्यो ? भन्ने प्रश्न गर्छन् । जलेर क्षति पुगेको भाटभटेनीको फोटो देखाउँदा बालबालिका तर्सने गरेका छन् । भाटभटेनीमा क्षति पुगेपछि अभिभावकका लागि पनि आफ्ना बालबालिकाको एउटा सुन्दर गन्तव्य गुमेकोमा चिन्ता छ । हेटौँडा–१०, कर्राका सुशील राज गिरी भाटभटेनी जलेपछि आफ्ना दुई छोराको साप्ताहिक भ्रमणको गन्तव्य नै हराएको बताउनुहुन्छ । ‘भाटभटेनी जलेपछि छोराहरुलाई हरेक साता घुमाउने एउटा गन्तव्य नै घट्यो’, गिरीले भन्नुभयो ।
करिव २०० जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको उक्त भाटभटेनीले अर्बौको आर्थिक क्षति त व्यहोर्यो । त्यस माथि पनि भाटभटेनीमा कार्यरत कर्मचारीहरुको रोजीरोटीको सवाल समेत जटिल बनेको छ । रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिक कर्मचारीहरु बिहीबारदेखि खरानी पञ्छाउँदै आएका छन् । सोमबार पनि भाटभटेनीका अधिकांश कर्मचारीहरु लामबद्ध भएर जलेर खरानी बनेको स्टोर सरसफाईमा जुटेका थिए । एक हिसाबले मृत अवस्थामा रहेको भाटभटेनीका कंकाल बुटुलिदै थियो ।
कर्मचारीहरु लामबद्ध भएर जलेका र्याकका टिनहरु, जिप्सन बोर्ड, फुटेका सामग्रीहरु व्यवस्थापन गरिरहेका थिए । फुटेका सामान र खरानी केही कर्मचारीहरु ट्रलीमा राखेर फाल्दै थिए भने केही जलेका सामग्रीहरु छुट्याउँदै थिए । भाटभटेनीका एक कर्मचारीका अनुसार त्यहाँ कार्यरत सबै कर्मचारीहरु सरसफाइमा खटिएका छन् ।











