आइतबार मामाघर नेपाललाई १० हजार रुपैयाँ नगद सहयोग गर्नुहुँदै एक सहयोगी (बायाँ) ।

हेटौँडा : सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलन गर्दै आएको हेटौँडा–११, थानाभर्‍याङस्थित मामाघर नेपाललाई आर्थिक वर्ष २०८१/८२ मा नगद १२ लाख, जिन्सी ५ लाख गरी १७ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मामाघर नेपाललाई हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र स्थानीयबाट १२ लाख १२ हजार रुपैयाँ सहयोग प्राप्त भएको मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले जानकारी दिनुभयो । सोही अवधिमा मामाघर नेपाललाई करिब ५ लाख बराबरको खाद्यान्न सामग्री सहयोग भएको उहाँले बताउनुभयो ।

मामाघर नेपालमा रहेका भान्जाहरूका लागि जन्मदिन, वैवाहिक उत्सव, विभिन्न संघसंस्थाको वार्षिकोत्सव, पूण्यतिथि, स्वेच्छा लगायत विभिन्न किसिमका सहयोगहरू हुँदै आएका छन् । खाद्यान्न सामग्री सहयोगमा दाल, चामल, नुन, तेल, चिनी दैनिक आवश्यक पर्ने खाद्य सामग्रीहरू सहयोग हुने गरेको छ । यसका साथै कतिपयले एकछाकको खाना व्यवस्था गर्ने गरेका छन् । साउन र भदौ महिना मा १ लाख ५४ हजार रूपैयाँ नगद सहयोग प्राप्त भएको छ । मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीका अनुसार साउन महिनामा ९४ हजार सहयोग प्राप्त भएको थियो भने भदौ महिनाको सोमबारसम्म ६० हजार प्राप्त भएको छ । मामाघरलाई दुई महिनाको अवधिमा करिब ५० हजार बराबरको खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ ।

२०६८ साल कार्तिक २७ गते स्थापना भएको मामाघर नेपालले हालसम्म २ हजार २ सय ७४ जना बालबालिकाको उद्दार गरेको छ । साथै १९९ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । १५ वर्षको अवधिमा मामाघर नेपालले चारजना बालिकाहरूलाई उद्दार गरेर माइती नेपालमा पठाएको छ । मामाघरका अध्यक्ष पराजुलीका अनुसार प्रत्येक दिन राति ९ बजेदेखि ११ बजेसम्म सडक अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा फेला परेका बालबालिकाहरूलाई उद्दार गरी परिवार भएकालाई पुनर्मिलन गराउने र परिवार नभएकाहरूलाई मामाघर नेपालकै संरक्षणमा राखिने गरिएको छ । अभिभावक नभएका बालकलाई मामाघर नेपालमा राख्ने गरिएको छ । मामाघरमा २४ जना बालकहरू आश्रित छन् । आर्थिक वर्ष २०८१/८२ मा सडकबाट ७ जना बालकको उद्दार गरिएको छ ।

मामाघर नेपालमा आश्रित १९ जना बालकहरु नजिकैको आनन्द भैरव आधारभूत विद्यालयमा १ कक्षादेखि ८ कक्षासम्म अध्ययनरत छन् । ९ र १० पढ्ने दुईजना बालकहरू नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालय र ३ जना हेटौँडाका विभिन्न क्याम्पसमा अध्ययनरत छन् । मामाघर नेपाललाई हालसम्म खाद्य सामग्रीको संकटको अवस्था नआएको अध्यक्ष पराजुलीको भनाइ छ । उहाँहरुले विभिन्न माध्यमबाट सहयोग बटुलेर भान्जाहरुलाई खाने, बस्ने र पढ्ने व्यवस्थासमेत मिलाउँदै आउनुभएको छ ।