हेटौँडा : हेटौँडा–२ स्थित बालजागृति ईङ्गलिस सेकेण्डरी स्कूलले बाल दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । विद्यालयका शिक्षकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई विभिन्न खेल खेलाई बाल दिवस मनाइएको विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठले जानकारी दिनुभयो ।
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आइतबार ६१ औँ राष्ट्रिय बाल दिवस मनाइएको हो । उक्त अवसरमा चेस, स्क्र्याबल, ब्याडमिन्टन, बास्केटबल, म्युजिकल चेयर, कबड्डी, ढाडमा पुस्तक राखी सन्तुलन गर्ने जस्ता खेलहरु आयोजना गरिएको थियो । ती खेलहरु कक्षागत शिक्षकहरुको उपस्थितिमा छुट्टाछुट्टै खेलाइएको हो । विजेताहरुले पछि पुरस्कार पाउनेछन् । जेन जी आन्दोलनका कारण २४ गतेबाट प्रभावित पठनपाठन आइतबारदेखि सुचारु भएको थियो । विदापछि विद्यालय सञ्चालन हुँदा सुरुको दिन २ सय १५ जना विद्यार्थी अनुपस्थित हुँदा १ हजार ४ सय ७ उपस्थित भएका थिए ।
