हेटौँडा: स्वास्थ्य संस्थाहरुमा निःशुल्क आइरन चक्कीको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । केही महिनायता स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण हुँदै आएको आइरन चक्कीको अभाव भएपछि जनगुनासो बढ्दै गएको हो । जेन जी आन्दोलनपछि जिल्ला स्वास्थ्य कार्यालयबाट आइरन चक्की प्राप्त हुन नसकेको, पालिकाले पनि आइरन चक्की खरिद गर्न चासो नदेखाउँदा विपन्न वर्ग प्रत्यक्ष प्रभावित भएको हेटौँडा उपमहानगरपालिकाअन्तर्गत वडा तहमा रहेको सहरी स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीले बताए ।
‘पालिकाले अनेकौं काममा पैसा खर्च गरिरहेको देखिन्छ । गर्भवती महिलाहरु, सुत्केरी महिलाका लागि वितरण गरिने सस्तो दरको आइरन चक्की किन्नेतर्फ भने पालिकाको ध्यान पुगेको छैन, ती स्वास्थ्यकर्मीले भनिन्, ‘हामीले पटक–पटक भन्यौं तर, सुनुवाई भएन । पैसा हुनेले त बजारमा किनेर खालान् । पैसा नहुनेहरु, विपन्नहरु आइरन चक्कीबाट बञ्चित भएका छन् ।’ स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने आइरन चक्की पछिल्लो केही महिनामा किनेर खानुपर्ने भएपछि आर्थिक रुपमा विपन्नहरुलाई आइरन चक्की नियमित खान समस्या भएको बताएका छन् ।
नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत समन्वय गरी नियमित स्थानीय तहमा पठाइने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । संघीय सरकारले तत्काललाई आइरन चक्की खरिद गरी स्थानीय तहहरुमा पठाउन असमर्थ भएकोले स्थानीय पालिकाहरुले आफैँ आवश्यकता अनुसार खरिद गर्न आग्रह गर्दै परिपत्र भएकोले स्थानीय पालिकाहरुले आफैँ खरिद गर्ने तयारी गरिरहेको र कुनै पालिकाले खरिद गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।
हेटौँडा उपमहानगरपालिकामा पनि गत कात्तिकमा अन्तिम पटक ५ हजार आइरन चक्की पठाइएको स्वास्थ्य शाखाले जनाएको छ । यसपछि कतिपय स्वास्थ्य संस्थाहरुमा छिट्टै आइरन चक्की सकिएपनि केहीमा वितरण हुँदै गरेको र धेरै समयसम्म संघीय सरकारबाट प्राप्त नभएपछि आफैं किन्ने तयारी गरेको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले स्पष्ट पारेको छ । हेटौँडा उपमहानगरपालिका भित्रका नगर अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रहरुमा वितरण गर्न हाल ३ लाख आइरन चक्की खरिद गर्नका लागि यहि हप्ता प्रक्रिया अघि बढाइएको छ । ३ लाख चक्कीले करिब ४ महिना धान्न सकिने स्वास्थ्य शाखाका भोलानाथ चौलागाईं बताउनुहुन्छ । यी स्वास्थ्य संस्थाहरुमा १ वर्ष वितरणका लागि १० लाख चक्की आवश्यक पर्ने उहाँको भनाइ छ ।
यसअघि नेपाल सरकारको पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिला, सुत्केरी भएको ३९ दिनसम्मका महिला तथा १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई तथा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई रगतको कमी हुन नदिन आइरन चक्की निःशुल्क वितरण गर्दै आइरहेको थियो ।
