Home अर्थ/व्यापार सहकारीका फाइल व्यवस्थापन गर्दै कर्मचारीहरु

सहकारीका फाइल व्यवस्थापन गर्दै कर्मचारीहरु

सहकारी तथा गरिबी निवारण मन्त्रालयको कागजपत्र मिलाउँदै कर्मचारी राम गजुरेल ।

हेटौँडा : शुक्रबार दिउँसो एक कर्मचारी चौरभरि कागजपत्र फिजाएर बटुल्दै थिए । मौलाएको दुवोमा पलेटी मारेर बसेका ति कर्मचारी जलेर नष्ट हुनबाट बचेका सग्ला कागजात समेटिरहेका थिए ।

अन्य केही कर्मचारी पनि उनलाई सघाउने र फाइल मिलाउने काममा व्यस्त थिए । यो दृश्य भदौ २७ शुक्रबार दिउँसो १ बजे तिरको हो र घटना बागमती प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालयको हो । मन्त्रालय परिसरमा लहलहाउँदो दुवोमा पलेटी कसेर बस्ने कर्मचारी थिए राम गजुरेल । उनी सहकारीका फाइल तथा रेकर्डहरुलाई व्यवस्थित गर्न व्यस्त थिए । सरकारीका उजुरी, तथ्यांक तथा अन्य विवरण समावेश भएको पत्रहरु व्यवस्थित गर्ने काममा उनी सक्रिय थिए । कागजात व्यवस्थित गरेर पुनः सेवा प्रवाह गर्ने तयारीका साथ पुनः निर्माणमा उनीहरु जुटेका थिए ।

भदौ २४ गते मंगलबार भएको जेन जी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त बनाएको प्रदेशको सहकारी तथा गरिवी निवारण मन्त्रालय पनि एक हो । प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको लगानीमा निर्मित सो भवनमा मन्त्रालयसहित सहकारी महाशाखा राखिएको थियो । पछिल्लो समय सहकारी पीडित नागरिकका उजुरी र समस्या समाधान गर्ने केन्द्र बन्ने क्रममा रहेको उक्त मन्त्रालयमा जेन जी आदोलनमा आक्रोशित प्रदर्शनकारीले आगो लगाउँदा संरचनामा ठूलो क्षति पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेका करिब ३ हजार २ सय सहकारीका ढड्डा खरानी भएका छन् । कार्यालय प्रयोगका अधिकांश सामग्री जलेका छन् । तर प्रदेश मातहत रहेका सहकारीहरु र उजुरी परेका सहकारीका फाइलहरु भने सुरक्षित रहेको बताइएको छ । मन्त्रालयको २ वटा कोठामा स्टोर गरिएका सहकारीका ढड्डा पूर्णरुपमा जले पनि उजुरीसम्बन्धी कागजात भएको कोठा भने जोगिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद गजुरेलले जानकारी दिनुभयो । सहकारीको विवरण कोपोमिस प्रणालीमा अभिलेखीकरण गरिएकाले करिब २ हजार ७ सय सहकारीको तथ्यांक सुरक्षित रहेको उनले दावी गरे । कागजी ढड्डा जले पनि अनलाइन प्रणालीमा रहेका अभिलेख सुरक्षित भएकाले सहकारी पीडितले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए ।

‘मन्त्रालयको तल्लो तलामा सहकारीको फाइलहरु थिए । यहाँ धेरै क्षति भयो । अन्य कोठामा रहेको फाइलहरुलाई भने आगजनीबाट क्षति पुर्‍याउन सकेन ।’ उनले भने, ‘जल्नबाट बचेका केही फाइललाई सुरक्षित स्थानमा सार्ने र आवश्यक कागजातको खोजीकार्यका लागि मन्त्रालयकै टोली खटिएका छौं । सरसफाइ र उद्दार कार्यलाई पनि निरन्तरता दिएका छौं ।’

Exit mobile version