Home मुख्य समाचार राजनीतिक दलको निराशा

राजनीतिक दलको निराशा

२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएदेखि प्रत्यक्ष, अप्रत्यक्ष दलीय व्यवस्था कायमै छ । २०१७ सालमा तत्कालिन राजा त्रिभुवनले पञ्चायती व्यवस्था लागू गरे पनि भूमिगत अवस्थामा भए पनि दलको उपस्थिति रहेको थियो । २००७ देखि २०१७ सालसम्मको अवधिमा पनि दलीय व्यवस्थाले नेपाली समाजको सकारात्मक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको इतिहासमा अध्ययन गर्न सकिन्छ । २०१७ सालदेखि २०४६ सालसम्मको पञ्चायती व्यवस्थामा पनि नेपालमा दलहरुको उपस्थिति, सक्रियता र भूमिका महत्वपूर्ण रहँदै आएकै थियो । करिब ३० वर्षपछि पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुनस्र्थापना भएको नेपालमा पछिल्लो समय दलीय व्यवस्थाले अपेक्षित सुधार ल्याउन सकेन । बरु दल प्रतिको बढ्दो निराशा समस्याको रुपमा विकसित हुँदै गयो ।

सात दशकको अवधिमा नेपालले दलीय व्यवस्थामा जति सुधार गर्नुपर्ने थियो त्यसो हुन नसक्नुको परिणाम नै आज दलीय व्यवस्था र दलप्रति आम निराशा चरम बनेको छ । दलीय व्यवस्थाप्रतिको निराशाकै परिणाम हो भदौ २३ र २४ को जेनजी आन्दोलन र छोटो अवधिको आन्दोलनले नै सत्ता पल्टिएको घटना । दुई दिनको बीचमा झण्डै दुई ठूला दलको सशक्तिशाली सरकार सत्ताच्यूत हुन बाध्य भयो । कुन शक्तिको योजनामा यत्ति छिटो सरकार परिवर्तन हुन पुग्यो भन्ने अनुमान गर्न पनि कठिन भइरहेको छ ।

आधुनिक समयमा बहुदलीय व्यवस्था, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समग्र दलीय व्यवस्थाप्रति नै जोखिम रहने गरी सत्ता परिवर्तनको स्थिति देखियो । दलीय व्यवस्था आफैंमा खराब व्यवस्था होइन । नेतृत्व, पार्टी, कार्यकर्ता नै जिम्मेवार, जवाफदेही र इमान्दार नहुनुको परिणाम दलसँगै सिंगो मुलुक र व्यवस्थालाई नै संकटसम्म पु¥यायो । यतिबेला मुलुकमा दलीय व्यवस्था नै छ तर, राजनीतिक दलहरुले आफूलाई नागरिकसामु उभ्याउन, उभिन कठिन छ । पार्टी प्रणालीमा नेतृत्वलाई प्रश्न गर्न, कमिकमजोरी औँल्याउन, पार्टीको आन्तरिक प्रणालीलाई स्वस्थ बनाउन सिंगो पार्टी इमान्दार नहुनुको परिणाम दलीय व्यवस्थाभित्रै दलको औचित्य देखिएको छैन । नयाँ भनिएका दलहरुको पनि क्रियाकलाप उस्तै देखिएको छ ।

यस्तो पृष्ठभूमिमा गैरदलीय सरकार गठन भएको छ । पूर्वन्यायमूर्तिको नेतृत्वमा पूर्वप्रशासक, न्यायकर्मीको सहभागितामा छरितो सरकारको खाका तयार हुँदैछ । नेपालकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री समेत बन्नु भएको छ । उहाँको नेतृत्वमा नागरिक सरकार गठन हुँदैछ । कार्की नेतृत्वको सरकारले केही दिनमा पूर्णता पाउला । मन्त्री बन्ने चर्चामा रहेका नामहरु पनि लोकप्रिय र पूर्वप्रशासक, राष्ट्रसेवक, पेशा, व्यवसायका क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु समावेश हुने देखिएको छ । जसले आगामी दिनमा पुराना र ठूला भनिएका दललाई आसन्न निर्वाचनमा थप चुनौति हुने देखिन्छ । पछिल्लो जेन जी युवाको आन्दोलन र त्यसले ल्याएको परिवर्तनमा कुनै विदेशी शक्ति नभई मुलुककै आन्तरिक शक्तिको सामथ्र्य प्रस्तुत भएको पनि भनिन थालेको छ । यदि यसो हो भने हालै भोगिएको ठूलो दुर्घटनालाई बिर्साउने गरी राष्ट्रिय शक्तिले भोलिका दिनमा मुलुकको मुहारमा सुन्दरता भर्ने अपेक्षा गर्न सकिन्छ ।

मूलतः दलीय व्यवस्थामा दलहरुले आज व्यहोर्नु परेको तिरस्कारलाई सुधार गर्ने गरी नयाँ समय र सन्दर्भमा दलहरुले आफूलाई सुधार्ने, सच्याउनेतर्फ ध्यान दिन सकोस् । जेन जी युवाको आन्दोलनका क्रममा व्यहोर्नु परेको अकल्पनीय क्षतिको पुर्ने गरी सुधार र प्रगतिको बाटोमा लाग्न दलहरुले नै दृढ अठोट गरोस् । दलले आफ्नो जिम्मेवारी, भूमिका र दायित्व बुझ्ने अवस्था रहोस् । आजको परिवर्तनमा भूमिका निर्वाह गर्ने शक्तिले भोलि नयाँ दल स्थापित गरेर पनि आफूलाई जनताबाट अनुमोदित गर्ने अवसर पनि रहन सक्छ । यदि त्यसो हो भने नयाँ दलले त्यस किसिमको सफलता पनि हासिल गरोस् । मूलतः नागरिकले मुलुकमै भविष्य देख्ने अवस्था रहोस् ।

Exit mobile version