हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा छन्द दिवसको अवसरमा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कार्यक्रम चौतारीकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता तथा छन्द कवि पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य तथा गजल मञ्च मकवानपुरका अध्यक्ष सन्जित श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा नवसर्जकहरू रोज कार्की, दुर्गा खतिवडा, जोशिका कँडेल ‘निशा’, स्वस्तिका दाहाल, अभिनव वात्स्यायन, कृतिका लौडारी लगायतको रचना वाचन रहेको थियो । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले छन्द दिवसको शुभकामनासहित नवसर्जक साहित्य चौतारी नेपाल लुम्बिनी प्रदेश कार्यालय स्थापना दिवसको समेत शुभकामना दिँदै आफ्नो छन्द कविता वाचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम आचार्यले छन्द दिवसको शुभकामना दिँदै छन्दको महिमा बताउँदै विविध लयका छन्द कविता वाचन गर्नुभयो । २५ वर्षमुनिका नवसर्जकको पठन तथा लेखन संस्कृतिको विकासका लागि समर्पित चौतारीले नवसर्जक मासिक शृङ्खला, नवसर्जक कार्यशाला तथा सन्दर्भविशेष कार्यक्रमहरू गर्दै आएको छ ।
