हेटौँडा : छुट्टाछुट्टै दुर्घटनामा परेर धादिङ जिल्लामा एकैदिन दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार साँझ धादिङको ज्वालामुखी गाउँपालिका–४, थापागाउँमा रुखको हाँगाले लागेर एक जना पुरुषको मृत्यु भएको छ ।
बाटोमा हिँडिरहेको अवस्थामा हावाहुरीका कारण समीको रुखको हाँगाले लागेर स्थानीय ३६ वर्षीय संदिप गरौजा घाइते भएका थिए । सोमबार साँझ ७ बजेर २६ मिनेटको समयमा धादिङ जिल्ला अस्पतालमा उपचारको क्रममा गरौजाको निधन भएको प्रहरीले जानकारी दिएको छ । यस्तै धुनिवेशी नगरपालिका–४, तेर्सेपानीमा भुईमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय ४० वर्षीय सानुबाबु तामाङ चिया पसलमा चिया पिइरहेका बेला अचानक लडेर करिब २५ फिट तल खसेर घाइते भएका थिए ।
लडेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो । सोमबार राती ९ बजेर ३५ मिनेटको समयमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
