पृष्ठभूमि :
वि.पि. साहित्यकारको अनुभूति र नेताको सामाजिक दायित्व दुवै विद्यमान भएका साझा व्यक्तित्व थिए । उनी आधुनिक नेपाली कथा र उपन्यासका लेखक हुन् । साहित्यिक इतिहासमा काल विभाजनका दृष्टिले वि.पि.लाई आधुनिक कालका साहित्यकारका रुपमा लिइन्छ । विधागत हिसावले उनलाई आख्यानकारका रुपमा राखिएको पाइन्छ ।

वि.पि.एकातिर राजनीतिक चिन्तनमा लागेका देखिन्छन् त अर्कोतिर साहित्यिक कृतिहरुको निर्माणमा पनि उत्तिकै समर्पित रहेको पाइन्छ । इ.सं. १९४८ मा शंकर लामिछानेकोे वि.पि.सँग भएको साक्षात्कारमा तपाईको साहित्यिक जीवन कहिलेदेखि शुरु भयो भनेर जिज्ञासा राखेका रहेछन्, त्यसमा उनको जवाफ रहेछ सन् १९२९ देखि । यस तथ्यबाट पनि किशोरावस्थादेखि नै वि.पि.कोइरालामा साहित्य लेखनप्रति लगाव रहेको पुष्टि गर्दछ । उनले भनेका छन् राजनीतिक जीवनले गर्दा म लेख्न पाउँदिन, राजनीति अली संगालियोस् अनि म फेरी कथा लेख्न थाल्ने छु ।

उनको भनाई अनुसार उनी अंग्रेजी साहित्यमा भिक्टर ह्यूगोका उपन्यासबाट प्रभावित रहेछन् । वि.पि.ले हिन्दीमा कथा लेख्थे । उनको प्रेमचन्दसँग व्यक्तिगत परिचय पनि रहेछ । प्रेमचन्द हिन्दी साहित्यका प्रशिद्ध कथाकारका साथै वनारसबाट प्रकाशित हुने हंश पत्रिकाका सम्पादक पनि थिए । कोइरालाको घोसला, पथिक आदि शीर्षकका कथाहरु सोही हंश पत्रिकामा छापिएको थियो । वि.पि.लाई हिन्दीमा कथा लेख्ने प्रेरणा चाहीँ प्रेमचन्दबाटै मिलेको रहेछ । उनले सूर्यबिक्रम ज्ञवालीको सल्लाहमा नेपाली भाषामा पछि कथा लेख्न प्रारम्भ गरेका रहेछन् ।

ज्ञातव्य नै छ कि बि.पि.कोइरालाकोे प्रथम नेपाली कथाचन्द्रवदन थियो । उनको सो चन्द्रवदन कथा काठमाडौंबाट प्रकाशित हुने शारदा पत्रिकामा वि.सं. १९९१ मा प्रकाशित भएको थियो । यही समयदेखि नै मनोवैज्ञानिक ढंगले जीवन केलाउँदै आधुनिक कथा शिल्प लिएर कोइराला देखा परे । उनको लेखनी कथा साहित्यबाट प्रारम्भ भएको भए तापनि पछि उनले नेपाली साहित्यलाई थुप्रै गहकिला र महत्वपूर्ण उपन्यासहरु दिएका छन् । जसमध्ये उनको पहिलो प्रकाशित उपन्यास तीन घुम्ती हो । तीनघुम्तीको प्रकाशन २०२५ सालमा भयो । त्यसपछि सुम्निमा, नरेन्द्र दाई, मोदिआइन, हिटलर र यहुदी आदि प्रकाशित भएका हुन् ।

लामिछानेसँगको साक्षात्कारमा आफ्ना कथाका विषयमा वि.पि. कोइराला यसरी भन्छन् मेरो कथाबाट अरुले जे माने लगाउन, त्यो उनीहरुको दृष्टिकोण हो, तर मैले जैले पनि आफ्ना कथाबाट सामाजिक कुनै एक विन्दुलाई लिएर त्यसमा आफ्नो दृष्टिकोण राख्न चाहेको छु ।

बि.सं. २०३६ साल लक्ष्मी पूजाको दिन रत्न पुस्तकालय नयाँ बानेश्वरद्वारा लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा अनावरणको अवसरमा आयोजित कार्यक्रममा देवकोटाका विषयमा वि.पि. कोइरालाले सम्वोधनका क्रममा उनी भन्छन्, ‘देवकोटा विजुली चम्के जसरी अवतिर्ण भए समाजलाई एउटा रुप दिन ।’ देवकोटामा साहित्यिक पकड सर्वव्यापी थियो र उनले नितान्त नयाँ प्रयोग दिए । देवकोटासँग कुरा गर्दा म पनि आफूलाई लेख्ने मान्छे भन्ठान्थेँ । मलाई पनि लाग्थ्यो साहित्यको निम्ति मैले पनि केही गरेको छु । तर उनी र म मा बडो फरक कुरा म पाउथेँ । एउटा साहित्यकारले मानिसका विभिन्न पक्षहरुको उजागर गर्छ, । तर, दिशा दिने काम राजनीतिज्ञहरुको हो । म राजनीति गर्ने मान्छे, म चाहन्थे, राजनीतिक एकता, त्यस्तो किसिमको व्यवस्था जहाँ सबैले ठाउँ पाउन राजनीतिका लागि, राजाले पनि, हामीहरुले पनि । यसरी उनले आफू साहित्यकार भन्दा ज्यादा राजनीतिज्ञ भएको कुरा दर्शाएका छन् ।

वि.पि. स्वयम्ले साहित्यकारले मानिसका विभिन्न पक्षको उजागर गर्छ भन्ने दृष्टिकोण यसरी राखे, प्रशस्त साहित्यिक कृतिहरु पनि दिए । उनले मानिसका के कस्ता पक्ष उजागर गरे ? वा गरेनन् ? गरेका भए के कसरी गरे ? उनका कथा वा उपन्यासहरुलाई विज्ञ अध्येता, समालोचकहरुले कसरी हेरे ? उनीहरुको दृष्टिकोण के, कस्तो रह्यो भन्ने विषयमा केही विश्लेषण अध्ययन गरौं :

कोइरालका विषयमा कृष्णचन्द्रसिंह प्रधान एवम् इन्द्रबहादुर राई दुवैको दृष्टिकोण उस्तै लाग्छन् । मान्यता प्रति तटस्थ हुन नसक्नेका लागि तीन घुम्ती नपच्न सक्छ । हाम्रो नैतिक आदर्शसित नमिल्ने आचरण सहज ग्राह्य हुन सक्तैन ।

वि.पि.का उपन्यासमा केही विशिष्टता छन् (यौनलाई चारित्रिक नैतिकतासँग गाँसेर त्यसकै मूल्यद्वारा प्रतिस्थापित हुने जीवन) आदर्श र त्यसलाई छुट्याएर शरीर धर्म भन्दा सर्वोपरी वा स्वतन्त्र महत्ता मान्ने नैतिकता । वि.पि.को धारणा अनुसार निर्बन्धित आचरणमा अनैतिकताको सम्भावना धेरै हुन्छ र मानव स्वभाव अनुसार व्यक्तिको दमित यौनवृत्ति विभिन्न विकृतिहरुको रुपमा धेरै अनैतिकताको रुपमा प्रकट हुन्छ । नरेन्द्रदाईमा नरेन्द्रको मुनरियासँगको यौन सम्बन्ध यसैको पुष्टि हो । (प्रधान)

वि.पि. को उपन्यासमा नैतिक मर्यादा प्रमुख प्रश्न भएर उभिएका छन् । स्वभाविक यौन सुखेच्छा र सामाजिक मर्यादाको द्वन्द्व जीवनको मुख्य विषय हो । कामलाई प्राथमिकता दिएर त्यसको प्रवृत्तिजन्य प्रक्रियाहरुद्वारा संचालित हुने जीवनको चित्रणमा देखापर्ने सत्य प्रति उनी निरपेक्ष छैनन् । मर्यादा अलग प्रश्न नभएर सेक्स सम्बन्धी मान्यता भित्र सृष्ट, त्यसप्रति भिन्न सायद उदार दृष्टि राख्ने आग्रहको परिणाम हो ।

इन्द्रमाया तीन घुम्तीकी नायिका, नरेन्द्र नरेन्द्रदाईको पात्र, सोमदत्त र पुलोमा सुम्निमाका पात्र आदिमा शारीरिक मानसिक अमर्यादामा घटित व्यवहारको केन्द्रता छ । परपत्नी इन्द्रमायाको परपुरुष रमेशसँगको यौनसम्बन्ध, परपत्नी मुनरियासँग परपुरुष नरेन्द्रको पत्नीवत व्यवहार, सुम्निमामा तापसपुत्र सोमदत्तले किराँतवाला सुम्निमा सम्झेर पुलोमासँग र भिल्ल युवक ठानी पुलोमा र सोमदत्त बीचको यौन सम्बन्धलाई लिन सकिन्छ ।

वास्तवमा अचेतन मनको जुन रागात्मक वृत्ति छ र सो वृत्ति विशिष्ट इच्छामा परिणत भई व्यक्तिलाई असल खराब काम गर्न प्रेरित गर्छ, यही यौन भाव नै मुख्य कारण हो भन्ने देखाउन चाहन्छन् उपन्यासकार वि.पि. कोइराला । वि.पि. कामवृत्तिको उद्घाटनमा प्रचलित मर्यादाको सीमा स्वीकार गर्दैनन् । यसलाई उनी जीवनको यौन समस्यासँग जोडेर हेर्छन् ।

दमित कामवृत्ति वा स्वभाविक यौन विकृत हुनेहरु त्यतिबेला उचित अनुचितको ख्याल गर्दैनन् । जस्तै सोमदत्त र पुलोमा जस्ता इन्द्रीय निग्रही, तपोप्रवल ब्राम्हण ब्राम्हणी दम्पति पनि अदम्य काम वासनाको स्वभाविक विकासमा क्रमशः अनियन्त्रित र उत्तेजित हुँदै गएको चरित्र चित्रण उपयुक्र्त सिद्धान्तको पुष्टि हो ।

वि.पि. आफ्ना उपन्यासमा मर्यादाप्रति अनपेक्षित छन् । उनले मान्यताको अर्को जग हाल्ने कोशिस गरेका छैनन् । यौन वा कामवृत्तिको जुन प्राकृतिक रुप हो त्यसको विचित्रता र प्रवृत्तिगत मनोविश्लेषणमा सम्भावित यथार्थिक दृष्टिकोण वि.पि. मा संग्रह चित्रित छन् । चेतन मन नैतिक आदर्श खोज्छ, अचेतन मन भने अनैतिक वासना पछाडि मडारिरहन्छ । यिनै चेतन र अचेतन मनको द्वन्द्वपूर्ण रागात्मक वृत्तिमा सुम्निमा उपन्यास लेखिएको छ ।

उनले कामवृत्तिद्वारा निर्देशित जीवनको विश्लेषण र मनस्थिति चित्रण गरेका छन् । उनका उपन्यासमा मर्यादा, नियति र यौनको सैद्धान्तिक त्रिकोण छ । उनमा दार्शनिक मान्यता नियतिवादी, सैद्धान्तिक दृष्टिकोण मनोविश्लेषणात्मक छ । वि.पि. ले कामशास्त्रीय मनोविश्लेषण सिद्धान्तलाई आधार बनाइएका उपन्यास दिए । उनको विश्लेषण मनोविज्ञानको यथार्थमा अबलम्बित छ । वि.पि. मनोविश्लेषणवादी उपन्यासकारको रुपमा नेपालीमा अविष्मरणीय रहनेछन् । सुक्ष्म तथा गहिराईमा अंकित यौन विकृतिपूर्ण जीवनको मानसिक यथार्थ प्रति निरपेक्ष तर समवेदनापूर्ण रागात्मक साहचार्यवोध र अनि भाव भनाई, विचारको छिटो छरितो र सुसंगठित संयोजन भित्र प्रकट भएको सुग्घर, सफा कलास्वरुप नै उनको औपन्यासिक विशेषता हो ।

समाज निषिद्ध भोग, वासनामा व्यक्ति किन लाग्छन्, कारण के हो ? नियति ? विवशता ? कि परिवन्द ? अथवा छाडापन ? उपन्यासकार कोइराला वास्तवमा अचेतन मनको जुन रागात्मक वृत्ति छ र विशिष्ट इच्छामा परिणत भई व्यक्तिलाई असल खराब काम गर्न प्रेरित गर्छ, मूलको यौन भावना नै मुख्य कारक हो भन्ने देखाउन चाहन्छन् । उनी काम वृत्तिको उद्घाटनमा प्रचलित मर्यादाको सीमा स्वीकार गर्दैनन् । यसलाई उनी जीवनको यौन समस्यासँग जोडेर हेर्छन् । उनको दृष्टिकोणमा दमित काम वृत्ति वा स्वभाविक यौन इच्छावश विकृत हुनेहरु त्यतिबेला उचित अनुचितको ख्याल गर्दैनन् ।

वि.पि. कोइरालाको फ्रायडवाद निग्रहित यौन प्रवृत्ति हो । एकातिर नियत्ववाद अर्को तर्फ अस्तित्ववाद । उपन्यासमा वि.पि. अस्तिवादी हुन खोजेको देखिनु हुन्छ । तर जीवोपयोगिताबाद (बायोलजीजम) मा उभिनु भएको छ । (राई) । उनका राजनीतिक सहकर्मी श्रीभद्र शर्र्माले वि.पि. का कथा नेपाली साहित्यमा यौन मनोविज्ञानको नयाँ धारको प्रारम्भ मान्दै उनको कथा कर्णेलको घोडा विलियम वर्डस्वर्थको कथा भीनस र अडोनिससँग तुलना गरेका छन् ।

वि.पि. का विषयमा झर्रोबादी साहित्यकार ताना शर्मा भन्छन् ( नेपाली साहित्यमा २००७ साल अघि कथाकारका रुपमा र २०२५ साल पछि उपन्यासकारका रुपमा बि.पि.कोइराला आफ्ना बिशिष्ठ साहित्यिक योगदानका लागि सदैव सम्झिइने छन् । ‘ठूला मानिस थरी थरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुन पट्टि नलाग्नू, नानी ।’ (मोदिआइनमा) । उनको दृष्टिकोण असल मानिस हुनुपर्छ भन्ने देखिन्छ । ताना अगाडि लेख्छन् वि.पि. कोइराला ठूला कथाकार थिए, ठूला उपन्यासकार थिए र ठूला व्यक्तित्व थिए, जो असल पनि उत्तकै थिए, आकर्षक पनि उत्तिकै थिए र प्यारा पनि उत्तिकै थिए ।

वि.पि. को विशिष्टताका विषयमा उनी थप्छन् ‘मान्छेका दबाइएका इच्छाहरुले कसरी भंगालिएर बाहिर हुत्तिने सुरुङ्घ खनिरहेका हुन्छन् र अलिकति दुलो पाउने विबत्तिकै ती कसरी हुन्हुनाउँदै सन्सनाउँदै र उत्ताउलिई अभिव्यक्त हुन्छन् भन्ने रहस्य यस्तो राम्रो, कलात्मक र यस्तो संयमित चित्रण गरेर कथाकार कोइरालाले नेपाली साहित्यलाई गरिमा प्रदान गरेका थिए, नौला सम्भावनाहरुको ढोका घ¥याकघुरुक खोलेका थिए र हाम्रो नेपाली कथाकारितालाई फड्को हनाएर उच्चता दिएका थिए । मानव मनका ग्रन्थीहरु उघारेका थिए ।’

तीन घुम्ती उपन्यासका सन्दर्भमा उनी (ताना) लेख्छन् ‘साहित्यिक व्यक्तित्वको उठान जिउँदो मान्छे हो, तर त्यसको नमेटिने मूर्ति भने कृतिहरुमै सुरक्षित हुँदो रहेछ । इन्द्रमायालाई निर्धक्क तीन–तीन वटा भयावह निक्र्यौल लिन सक्ने नारीका रुपमा उभ्याएर पीताम्बरको उपस्थितिलाई मामूली पृष्ठभूमि तुल्याएर र रमेशलाई झुक्यानमा फेला पारेको काम परेको भाँडोलाई झैँ फालेर तीन घुम्ती अस्तित्ववादको प्रयोग गरोस्, तर भित्र भित्रै लुकेको छ, कहिल्यै अलग्याउन नसकिने लेखकको साहित्यिक व्यक्तित्व जो प्रखर छ, प्रभावशाली छ र पन्छाउन नसकिने छ ।’

सुम्निमा र नरेन्द्रदाई उपन्यासको प्रसंगमा लेख्छन् ‘सुम्निमाको तर्कहरुबाट मानव प्रेमको व्याख्या जुन सरलतासाथ भएको छ, त्यस गाम्भीर्यमा, त्यस स्वभाविकतामा र साँस्कृतिकतामा सोमदत्तको ब्राम्हणवादी दूराग्रह खरानी भएको छ । यहाँ पनि कोइरालाको साहित्यिक व्यक्तित्व झल्झलाकार भएको छ । त्यसैगरी नरेन्द्रका गौरी र मुनरिया भावनाको कोशीमा तरंगित् छन् । पे्रम त दुई शरीरको मेल हो । अनि आचार व्यवहार सामाजिकता बाहिरी पर्खालहरु । साहित्य त यस्तो विशुद्ध बौद्धिक र साँस्कृतिक विश्रामस्थल हो जहाँ व्वाँसा र बाख्रा एउटै घाटमा पानी खाइरहेका भेटिन्छन् ।’

ताना शर्मा अगाडि लेख्छन् ‘आकाश थिए उनी (वि.पि.) जसमा म उडन सकिन, एक्ला बृहस्पति थिए उनी जस्लाई मैले छुन सकिन, उनको बाटो भयावह थियो, जसदेखि म तर्सेँ र टाढिँदै गएँ । उनका कथा र उपन्यासमा मैले आफ्नै ढुकढुकी पाएँ ।’ विद्वान प्रा. जयराज आचार्य विचारमा वि.पि. कोइरालाले नवनेपालको निर्माणमा नयाँ राजनीतिक दृष्टिककोण र विचारधाराको प्रवेश जसरी गराए त्यसैगरी नेपाली साहित्यिक क्षेत्रमा विशेषत कथा र उपन्यासका क्षेत्रमा नयाँ प्रयोग गरी साहित्यमा नयाँ मूल्यहरुको स्थापना गर्ने चेष्टा गरे ।

कोइरालाका जति पनि कृतिहरु छन् तिनले हाम्रा परम्परागत धारणा र स्थिर विचारहरुलाई खल्बल्याएर छाडेका छन् । उहाँले हाम्रो चिन्तनको इतिहासमा हामीलाई एक पाइलो अघि घचेट्नु भएको छ । हाम्रो सोचाईको धरातललाई उचालेर हामीलाई कुनै टाकुरामा उभ्याउन लैजानु भएको छ जहाँबाट हामी हिजो भन्दा आज बढी वस्तुहरु देख्न सक्छौं । कोइरालाका कथामा फ्रायडका मनोवैज्ञानिक विश्लेषणको प्रभाव पाइन्छ । उहाँको ‘चन्द्रवदन’, ‘कर्नेलको घोडा’, ‘बिहा’, ‘प्रेम’ आदि प्रायः सम्पूर्ण कथाहरुले एकै साथ मनोवैज्ञानिक एवम् सामाजिक दुवै समस्या प्रस्तुतीकरण गरेका छन् ।

समीक्षक अर्जुन पौडेल भन्छन् ‘उपन्यास मानव चरित्र र मानव व्यवहारको मूल्यांकन गर्ने साहित्य हो । र उपन्यास सामाजिक जीवनलाई हेर्ने दृष्टिकोण पनि हो । यस्ता दृष्टिकोणहरु सैद्धान्तिक हुन्छन् । कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाई, मोदीआइन, हिटलर र यहुदी उपन्यासहरु उनका उच्चतम भाषिक कलाकृतिहरु हुन् । उनका उपन्यासहरुमा केही मानिसहरु छन् जसले आफ्नो चेतना वा अस्तित्वका ढाडमा केही प्रकृति, संस्कृति र संस्कार बोकेका छन् । जस्तो सोमदत्त, पुलोमा, सुम्निमा, इन्द्रमाया, नरेन्द्र, गौरी, मुनरिया, मोदिआइनमा नारी । उनीहरुको अनुभूति र अभिनय त्यहाँ छ । सुखदुख, आकर्षण विकर्षणका विभिन्न आयाम र स्तरहरु छन् ।

तीन घुम्तीको इन्द्रमायाको समग्र जीवनयात्रा एक मौलिक अहंकारको यात्रा हो । तीन घुम्तीको पीताम्बरको यात्रा लौकिक छ भने इन्द्रमायाको मौलिक छ । इन्द्रमायाका निजी आस्था रहर र तीर्सनाहरुको अभिनय नै उसको तीन घुम्ती हो । प्रेम, वासना, मातृत्व बात्सल्य जस्ता नारीसुलभ भावहरुले इन्द्रमायाको आकांक्षा र आस्था निर्मित गरेका छन् ।

समग्रमा उपन्यासकार वि.पि. कोइरालाको उपन्यासहरुमा कामवृत्तिलाई आधार बनाएर पात्रहरुको प्रवृत्ति, मानसिक विकार वर्णित छ । स्वाभाविक भोकको आग्रहले संज्ञाहीन झैं हुने वासनाजनित प्रवृत्ति र यथार्थको चित्रणमा उपन्यासकार संलग्न छन् । वि.पि.ले तीन घुम्तीमा बढी यौन स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याएको प्रतीत हुन्छ । नरेन्द्रदाईमा नैतिक मर्यादामा आँफूलाई बाँधेर आदर्श प्रति समर्पित छैनन् । उनी भाग्यवादी मनोभूमिको हाराहारी पनि उभिएका पाइन्छन् । नियतिवादको दार्शनिक पुट पनि उनमा छ । उनका दार्शनिक मान्यता नियतिवादी र सैद्धान्तिक दृष्टिकोण मनोविश्लेषणात्मक छन् ।

तीन घुम्तीमा यौन अतृप्तिको द्वन्द्व छ । पीताम्बरको उपस्थितिमै इन्द्रमायामा साग्रह प्रकट हुन्छे । बारम्बार खण्डित हुनु परेको व्यथा–बोध, निराश–निराश, नीरस–नीरस, क्षुव्ध इन्द्रमाया यो एकान्त फोड्न चाहन्थी । छाती भरिभरि वेरिएर, तृप्ती कार्यमा सहभागी भईदिन विनय गरेर…। इन्द्रमायाले पीताम्बरलाई आफैं रोजेर वरण गरेकी थिई । पछि इन्द्रमाया परपुरुष गमन र पति वञ्चिता हुनुपरेको अवस्था छ । तीन घुम्ती कथा होइन, घटना पनि होइन, विशेष दृष्टिकोण एक बौद्धिक निक्षेप । इन्द्रमाया अतिरिक्त मानव मूल्यबोधमा बाँचेको अहम् हो । अहम्रक्षाका लागि उँधोलाग्ने स्वतन्त्र व्यक्तिको रोब हो तीन घुम्ती ।
नरेन्द्रदाई निस्पाप प्रयोजनको अप्रस्तुत प्रतिफल हो । गौरी नरेन्द्रको रोजाई होइन । गौरी नरेन्द्रको रागात्मक प्रवृत्ति अनुकूल नभएकीले गौरीबाट नरेन्द्रको यौनाकांक्षा पूरा हुन नसक्ने ठानेर उ (गौरी) तिरस्कृत हुनु परको अवस्था छ । मुनरियासँगको सम्पर्कले नरेन्द्रको दमित वासना एकाएक भड्किएको छ । यस उपन्यासमा नरेन्द्र गौरी र मुनरियाले भोगेको दुखः वियोगमा उनीहरु जिम्मेवार छैनन्, न त उनीहरुको समाज, यो खाली नियति प्रेरित त्रासदिकता हो । सबैलाई तृप्ति सन्तोष बाँडेर रस्वादित र क्षणानुभूतिको आनन्दमा जीवनबोध गरी दुःखान्त परिणति नरेन्द्रको नियति हो ।

सुम्निमा, हाम्रो शरीर यन्त्र होइन, माध्यम होइन, साधन पनि होइन । त्यो आफै साध्य हो, लक्ष्य हो, त्यसको हेँला गर्न सक्दैनौ तिमी । मानिसको रस, भोग, भावना र इच्छाबाट शरीर शून्य भएपछि त्यो ज्यान नभए जस्तै हुन्छ । (विजुवा) उपन्यासमा उपन्यासकारले मानवीय प्रीति एवम् रतिको विरुद्ध ईश्वर कदापी छैनन् । कामवृत्तिको जुन प्राकृतिक रुप हो, त्यसको विचित्रता र प्रवृत्तिगत मनोविश्लेषण चित्रित छन् । चेतन मन नैतिक आदर्श खोज्छ, अचेतन मन भने अनैतिक वासना पछाडि मडारिरहन्छ । यिनै चेतन र अचेतन मनको द्वन्द्वपूर्ण रागात्मक वृत्तिमा सुम्निमा उपन्यास लेखिएको छ ।

अतः उपन्यासको मुख्य विषय जीवन हो । जीवन व्यक्तिगत पनि हुन्छ, सामाजिक जीवन पनि हुन्छ । व्यक्ति र समाज दुवै परस्परमा आवद्ध सत्य हो र एक अर्काका पूरक पनि हुन् । त्यसैले उपन्यासमा सामाजिक जीवनको बृहत्त चित्र समाविष्ट हुन्छ । अर्कोतर्फ उपन्यासमा कुनै व्यक्तिको मनोदशाको विश्लेषण पनि हुन्छ । उपन्यासमा कथा हुन्छ, उपन्यास त्यही कथाको टेको समाएर उभिन्छ । कथा एउटा धागो हो यसमा दिगो जीवन उभिएर जीवनको साक्षात्कार गराईन्छ । साथै उपन्यास एउटा कला हो । कलामा रागात्मकताको सम्बन्ध हुन्छ । रागात्मकताको संस्पर्शले विद्युत शक्ति प्रवाहित भएझैं जीवनको सजीवताको लहर दौडन्छ र त्यसमा सुखः दुःख, नाश निर्माण, हार, जीतले छोइन्छौं, चिमोटिन्छौं रुन्छौं, हास्छौं । यही जीवन ग्रहण गरेर उपन्यासले आफूभित्र एउटा समाज रच्छ, त्यसले रचना गरेका व्यक्ति हामीसँगै, हामीसँग हिँड्डुल गर्छन् । हामी वि.पि. कोइरालाका उपन्यासहरुमा पनि यस्तै अनेक प्रवृत्ति र दृष्टिकोण समेटिएको पाउँछौं । अस्तु ।

सन्दर्भ सामग्री :
Wikipedia.org
नेपाली उपन्यासका आधारहरु, इन्द्र बहादुर राई, नेपाली साहित्य परिषद् प्रकाशन, दार्जलिङ, १९७४
नेपाली उपन्यास र उपन्यासकार, कृष्णचन्द्रसिंह प्रधान, साझा प्रकाशन, ललितपुर नेपाल, २०३७
तीन घुम्ती, सुम्निमा, प्रतिनिधि साहित्य प्रकाशन, चावहिल, काठमाण्डू नेपाल, प्र.सं.२०२७
नरेन्द्रदाई, प्रशान्त प्रकाशन, सि.के.३४। लाहोरी टोल बाराणसी, दो.सं.१९८६
साझा कथा, दोश्रो संस्करण, २०३१ साझा प्रकाशन काठमाडौ (केही विवरण–केही विचरण भैरव अर्याल)
पूजा : श्री रत्न पुस्तकालय, बानेश्वरकोे वार्षिक मुखपत्र अंक ९, २०३९ वि.पि. कोइराला विशेषाङ्क
देवकोटाका सम्बन्धमा (वि.पि.कोइराला (वक्तव्य) ऐ. पूजा अंक ९,
कथाकार वि.पि.कोइराला (शंकर लामिछाने, ऐ. पूजा अंक ९,
भीनस र अडोविससँग दाँजेर हेर्दा : कर्नेलको घोडा (श्रीभद्र शर्मा , ऐ. पूजा अंक ९,
वि.पि. कोइरालाको साहित्यिक व्यक्तित्व (डा. ताना शर्मा, ऐ. पूजा अंक ९,
वि.पि. कोइरालाको साहित्यिक मूल्यांकन (जयराज आचार्य ऐ. पूजा अंक ९,
वि.पि. कोइरालाको उपन्यास एक कअध्यययन (अर्जुन पौडेल, ऐ. पूजा अंक ९,