राक्सिराङ : मकवानपुरमा २ महिने सुत्केरी माथि बलात्कार भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१ मा दुई महिने सुत्केरीमाथि बलात्कार भएको हो ।

बिहीबार राक्सिराङको इन्द्रुङमा एक अपरिचित पुरुषले श्रीमानलाई खामोमा बाँधेर २३ वर्षीया सुत्केरी महिलालाई बलात्कार गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, एकान्तमा घर भएकी ती पीडित सुत्केरी महिलाको श्रीमानलाई गोठको खाबोमा बाधेर बलात्कार गरिएको हो । घटनापछि पीडितका श्रीमानले प्रहरी चौकी राक्सिराङमा जाहेरी दिन पुगे पनि प्रहरी तत्काल घटनास्थलमा जान नमानेको अध्यक्ष मल्लले बताउनुभयो ।

‘पीडितका श्रीमानले घटनाको जाहेरी दिँदा पनि प्रहरी घटनास्थलमा जान नमानेको खबर प्राप्त भयो ।’ अध्यक्ष मल्लले भने, ‘अस्ति भएको घटनाले त्रसित भएर प्रहरी घटनास्थल जान नमानेको रहेछ । यद्यपि, हाल घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको छ ।’ पीडित महिलालाई हाल सेफ हाउस हेटौंडामा सुरक्षित राखिएको छ ।