Home मुख्य समाचार जेनजी आन्दोलनको बलमा चमत्कारी परिवर्तन

जेनजी आन्दोलनको बलमा चमत्कारी परिवर्तन

यो हप्ता जेनेरेसन जेड (जेन जेड) पुस्ताको आन्दोलनले ठूलो उचाई प्राप्त गर्‍यो । युवा विद्यार्थीको आन्दोलनको बलमा मुलुकमा ठूलो परिवर्तन भएको छ । जेनजी पुस्ताका युवाहरूको यो अदम्य साहस प्रशंसनीय रह्यो । लामो समयदेखि यो देशका युवाहरूमा छटपटाहट र उकुस–मुकुस थियो । वर्तमान अवस्थाप्रति चरम आक्रोश थियो । यो शक्ति वर्तमान यथास्थितिवाद विरुद्धमा उभिन खोज्दै थियो । जेनजी जेड पुस्ताले श्रीलंका, बंगलादेश, ईण्डोनेशियाको आन्दोलनलाई पनि नजिकबाट नियाली रहेका थिए ।

जब तात्कालिन केपी सरकार दिनप्रतिदिन निंरकुश देखिँदै आयो, सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगायो, जनताको छोराछोरी कुल्चेर हिँड्ने घटनालाई सामान्य घटना हो भन्न थाल्यो, राजवादी आन्दोलनमा समेत गोली हानेर मान्छे मार्‍यो तब यी तमाम घटनाबाट जेन जेड पुस्ता प्रभावित त थियो नै, उनीहरू उपयुक्त मौकाको पर्खाइमा पनि थिए ।

जब नेपालीको करबाट नेताका छोराछोरीले विलासितापूर्ण जीवन बिताएको देखियो, करोडौं पर्ने यिनका सोख घडी, व्याग र लुगाको चर्चा हुन थाल्यो, तब यो जेन जेड समूहका युवाहरू लुटतन्त्रको विरुद्धमा स्वतःस्फूर्त सडकमा ओर्लिए । आन्दोलन भएको जम्मा दुई दिनमै यस आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गर्‍यो । उक्त आन्दोलनमा करिब ५१ जनाले शहादत प्राप्त गरे भने एक हजारभन्दा बढी युवा विद्यार्थी घाइते भए । भ्रष्टाचार, अव्यवस्था र कुशासनको चर्को विरोधमा सडकमा उत्रिएका युवामाथि सरकारले पहिलो दिन निर्मम दमन गर्‍यो । संसद भवन कब्जा गर्न पुगेका आन्दोलनकारीमाथि बर्वर दमन र हत्या गर्‍यो सरकारले कठोरता साथ गोली प्रहार गर्‍यो । स्कुल ड्रेस लगाएका विद्यार्थीहरूलाई समेत टाउको र छातीमा सीधा निशाना साधेर गोली हानियो, जसको कारण ठूलो नरसंहार भयो । यत्रो ठूलो दमन पछि आक्रोशित युवाले भोलिपल्ट जसरी नेताहरूको घर, सरकारी सम्पतिको तोडफोड गरे जून दृश्य हेर्दा नि कहालिलाग्दो रह्यो । सरकारी सम्पत्तिहरु शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, मालपोत, बालुवाटार लगायत सयौं संख्यामा सरकारी कार्यालय देशभर तोडफोड भए । निजी सम्पत्ति पनि क्षतिग्रस्त भयो जुन हुनुहुँदैन थियो । तर यस आन्दोलनमा प्रशस्त घुसपैठ भएको देखियो । केही भिजिलान्तेहरूले आन्दोलनको मर्म विपरित लुटपाट गरे । भाटभटेनीमा भएको लुटपाटलाई भने जेन जेड युवाहरूले रोक्ने प्रयास पनि गरे । तर उच्छंखल र नियोजितरूपमा परिचालित केही तत्वहरूले आन्दोलनलाई बदनाम गर्न खोजेको सार्वजनिक भएको छ ।

यति हुँदाहुँदै पनि यो आन्दोलनले पुराना भ्रष्ट नेताहरूमाथि प्रहार गर्‍यो र किनारा लगाएको छ । मुलुक नयाँ कोर्सतर्फ अघि बढिसकेको छ र यसको श्रेय जेन जेड पुस्तालाई नै जान्छ । धेरै मानिसलाई कौतूहल छ आखिर यो जेनजी पूस्ता भनेको के हो ? जेन जेड (जेनेरेशन जेड) भनेको ? जेन जेड भन्नाले सन् १९९६ देखि २०१२-१५ को बीचमा जन्मिएका पुस्तालाई जनाइन्छ । यो पुस्ता प्रविधिमैत्री छ, जसलाई डिजिटल पुस्ता पनि भनिन्छ । यो पुस्ता इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता भएकाले यिनीहरू प्राविधिक सजग हुन्छन् । यो पुस्ताले पढाइ मात्र होइन, सीप र उद्यमशीलतालाई प्राथमिकता दिन्छ । अनलाइन शिक्षा, रिमोट वर्क, फ्रिलान्स रोजगारीलाई सहजै आत्मसात गर्ने गर्छ । विविधता, समानता र आत्म–पहिचानमा जोड दिन्छ । वातावरणीय चेतनामा सचेत हुन्छ । व्यक्तिगत स्वतन्त्रता र आत्म–प्रकाशलाई महत्वपूर्ण ठान्छन् । छोटकरीमा भन्नुपर्दा जेन जेड भनेको इन्टरनेटसँगै हुर्किएको, खुला सोच भएको, विविधतालाई मान्यता दिने, भविष्यप्रति प्रविधिमैत्री र सृजनात्मक ढङ्गले अघि बढ्ने पुस्ता हो ।

पछिल्लो समय बंगलादेशको परिवर्तनमा पनि यही पुस्ताले निर्णायक भूमिका खेलेको छ । मैले गएको श्रावण २६ गतेको आलेखमा भनेको थिए, ‘आज हामीकहाँ पनि काँग्रेस–एमालेको दुईतिहाई नजिकको बलियो सरकार बनेको छ । तर गणितीय आधारमा ढुक्क भएका नेताहरूले बंगलादेशको घटनाले एउटा ठूलो सन्देश दिएको छ बहुमत भए पनि जनता सडकमा ओर्लिएपछि क्षणभरमै सत्ता ढल्न सक्छ । अन्ततः जनताको बल सामु सबै निरिह हुन्छन् । नेपालमा पनि अब साँच्चिकै भ्रष्टाचार, लुटतन्त्र, संघीयताको खारेजी जस्ता संवेदनशील मुद्दामा जनताले आवाज बुलन्द गरेको दिन नेताहरूलाई लेखेटिने छन् । यहाँ पनि जनताको आक्रोश र विद्रोह भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको छ । जुनसुकै बेला विस्फोट भएर ठूलो आँधीबेहरी निम्त्याउन सक्छ । त्यसैले अब जनताको मनोभावनालाई बुझ्दै सही बाटोमा अघि बढ्नु राम्रो होला । अन्यथा जनताले निरन्तर उठाइरहेका मुद्दाहरूमा ध्यान नदिने हो भने, अन्ततः रामराम भन्न मात्र सकिन्छ काँध थाप्न सकिन्न ।’

आज यो भनाई ठ्याक्क मिल्न पुगेको छ । सरकारको निंरकुशताले सीमा नाघेपछि आज मूलुक आन्दोलनको आँधिबेहरीले पुरानो नेता र पुरानो पार्टीलाई विस्थापित गर्दै मुलुक नयाँ कोर्सतर्फ अघि बढ्ने जमर्को गर्दैछ । फेरी पनि सामान्य टालटुल गरेर अघि बढ्न खोजे दुर्घटना निम्तिन सक्छ । निर्णय ढिलो गर्दा आन्दोलनले विस्थापित शक्तिले टाउको उठाउन खोजेको देखिन्छ । यो सरकार बन्न नै ठूलो प्रश्रव पीडा भयो । राष्ट्रपति पुरानै दलको सरसल्लाहमा लाग्नुभयो । संविधान भित्रबाट समस्याको समाधान खोज्न उद्दत्त राष्ट्रपति संसद विघटनको विपक्षमा उभिँदा आन्दोलनमा शहादत प्राप्त युवाहरूको बलिदान खेर जाने हो की भन्ने आंशका सर्वत्र छ थियो । तर लामो रस्साकस्सीपछि बाहिर समाचार आएजस्तो संकटकाल लगाउन सक्ने परिस्थिति निर्माण भएपछि अन्ततः सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री हुनु भयो । प्रधानमन्त्रीको सिफारिशमा संसद भंग गरिएको छ ।

देशले नयाँ कोर्स लिएको छ । यो चानचुने परिवर्तन होईन । तसर्थ अन्तरिम सरकारले शक्तिशाली आयोग बनाएर आन्दोलनमा बल प्रयोग गर्दै ५२ जना युवा विद्यार्थी हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्‍यो । भोलिपल्ट भएको राष्ट्रिय सम्पत्ति माथिको तोडफोडमा भिजिलान्तेहरू प्रयोग भएका छन् तिनलाई पनि कानुनी कारवाहीमा ल्याउनुपर्छ । अर्को महत्वपूर्ण काम भनेको २०४६ सालपछि बनेका उच्च पदस्थ नेता–कर्मचारी र तिनका नातेदारहरूको सम्पत्तिको छानबिन गरी तिनलाई कठधरामा उभ्याउने काम अबिलम्ब गरिनुपर्छ । लोकतन्त्रलाई आधार बनाएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सानो संख्याको संसद, सांसद मन्त्री हुन नपाइने व्यवस्था, संवैधानिक निकायमा स्वतन्त्र र पारदर्शी नियुक्ति, जस्ता शासकीय संरचनामा परिवर्तन जनताले खोजेका छन् ।

अब मुलुकले केवल आन्दोलनसम्म सीमित नबसिकन भविष्यको संरचना निर्माण गर्नुपर्ने आवश्यकता आएको छ । यसैले जेन जेड पुस्ताले अगाडि बढेर देशमा दृढ, दृष्टिवान र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ । भिजन भएका, सशक्त र इमानदार व्यक्तिहरूलाई राजनीतिमा अगाडि ल्याउने यो समय हो, जसले देशलाई दीर्घकालीन विकास र शुसासनको बाटोमा लैजान सकून् । आन्दोलनको बलमा उठेका मुद्दाहरूमा पहिलो प्राथमिकता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हो । यसले जनताको सिधा सहभागिता सुनिश्चित गर्छ र नेतृत्वलाई उत्तरदायी बनाउँछ । अबको राजनीतिक संरचनामा लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै, संसद र पार्टी संरचनामा सुधार ल्याउनु अपरिहार्य छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको अघिल्ला सबै नेताहरूको सम्पत्ति छानबिन गर्नु हो । दुई दशकदेखि चल्दै आएको भ्रष्टाचार, कुशासन र लुटतन्त्रको मुद्दा अब उपेक्षित हुन सक्दैन । यसका लागि स्वतन्त्र, निष्पक्ष र प्रभावकारी आयोग गठन गर्न जरुरी छ, जसले देशभर देखिएका भ्रष्टाचारका सबै मुद्दाहरूको छानबिन गर्न सकून् । साथै, अबको निर्वाचन प्रक्रियामा जेन जेड पुस्ताका दृष्टिकोणलाई समेटेर उम्मेदवार घोषणापत्र तयार पार्नुपर्ने आवश्यकता छ । जसले युवाको आवाज, पारदर्शिता, वातावरणीय चेतना, समानता र सामाजिक न्यायलाई प्राथमिकता दिने छ र भविष्यका नेतृत्वलाई जनताको वास्तविक अपेक्षासँग मेल खाने बनाउँछ ।

यसरी जेन जेडको आन्दोलनले केवल पुरानो नेतृत्व हटाउनु मात्र होइन, देशको दीर्घकालीन संरचना र नेतृत्व प्रणालीमा सुधार ल्याउने मार्ग पनि खोलिसकेको छ । तसर्थ आन्दोलनको बलले संसद भंग, संविधानको पुनर्लेखन गर्न सक्ने अवस्थासम्म मुलुकलाई पुर्‍याएको छ । तसर्थ यो नयाँ युग प्रारम्भ भएको छ, भष्टहरू किनारा लाग्ने अवस्था सिर्जना भएको छ, सुशासनको नयाँ चरणमा मुलूक प्रवेश गर्न सक्यो भने नयाँ पुस्ताको सहादतले सार्थक पाउँछ । तसर्थ पुरानो पाठ सिकेर नयाँ ईतिहास रचौं । एउटा उज्यालो, ईमान्दार, नैतिक, भ्रष्टाचार नहुने देश, सुशासनयुक्त देश बनाऔं । युवा विद्यार्थीको बगेको रगतको सम्मान गरौं । अस्तू ।

Exit mobile version