हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश समितिले ‘जेन–जी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी अराजक तत्वहरूले सभापति देउवाप्रति गरेको अमानवीय व्यवहार र निवासमाथिको आक्रमणप्रति खेद प्रकट गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नेपाली कांग्रेसका श्रद्धेय सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौं’, विज्ञप्तिमा भनिएको छ । समितिले राजनीतिक नेतृत्व, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि भएका आक्रमणहरू अलोकतान्त्रिक, अपरिपक्व र निन्दनीय रहेको र यस्ता गतिविधिले लोकतान्त्रिक पद्धति र विधिको शासनलाई कमजोर बनाउँछ ।
कांग्रेस बागमती प्रदेशले देशको शासन व्यवस्था सञ्चालन गरिरहेको नेतृत्वले नागरिकको मनोविज्ञानअनुसार सही निर्णय लिन नसक्दा जनआक्रोश बढेको र त्यसले क्षति पुर्याएको निष्कर्ष निकालेको छ । प्रशासनिक केन्द्र सिंहदरबार, निर्वाचन आयोग, संसद भवनजस्ता राज्यका महत्वपूर्ण संरचनाहरूमा भएको आक्रमणले लोकतान्त्रिक पद्दतिलाई कमजोर पार्ने भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।
साथै, कांग्रेसले आफ्ना पार्टी पंक्ति, भ्रातृ तथा शुभेच्छुक संस्था र आम नागरिकलाई समेत आन्दोलनको नाममा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सचेत रहन र त्यस्ता गतिविधिलाई निस्तेज पार्न सक्रिय हुन आह्वान गरेको छ । विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उल्लेख गर्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्दतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।











