हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले कफ्र्यु आदेश जारी राखेको छ । मंगलबार दिउँसो १ बजेबाट लगाइएको आदेशलाई निरन्तरता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गर्नुभएको हो । आदेशअनुसार कफ्र्यु लागू भएको अवधिभर मकवानपुर जिल्लाभरि कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ जस्ता गतिविधि गर्न पूर्णरुपमा निषेध गरिएको छ ।
प्रशासनले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर जारी गरिएको उक्त आदेशको उल्लंघन गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । अहिले नेपाली सेनाले हेटौँडा बजार क्षेत्रमा कडाई गरिरहेको छ । बजार क्षेत्र ठप्प छ भने अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।











