हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा पनि कफ्र्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो एक सूचना जारी गर्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी मंगलबार राती १२ बजेसम्मका लागि पूर्वतर्फ सानोपोखरा पुल, पश्चिममा राप्तीपुल, उत्तरमा चौकीटोलस्थित अस्थायी प्रहरी पोष्ट र दक्षिणतर्फ वनविज्ञान अध्ययन संस्थानको गेटसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।
कफ्र्यु आदेश जारी गरिएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख गरिएको छ । जेनजी युवाको आन्दोलनका कारण देशभर तनावपूर्णस्थिति छ । सोमबार काठमाडौंमा १७ जना र इटहरीमा २ गरी १९ जनाको ज्यान जाने गरी प्रहरी दमनपछि मंगलबार बिहानैदेखि आन्दोलन चर्किएको छ ।
संघीय राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरुमा कफ्र्यु आदेश जारी गरिएको छ भने देशका शीर्ष नेता, मन्त्रीका निजी निवास, सरकारी कार्यालय, पार्टी कार्यालयहरु तोडफोड तथा आगजनी गरिएको छ ।











