प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा देउ । नागरिकको अधिकारका लागि भनेर ल्याएको गणतन्त्रमा प्रधानमन्त्री ओलीको नाती पुस्ताले आन्दोलनमा सरकारको गोलीबाट मृत्यु वरण गर्नुप¥यो । सोमबार राती १० बजेसम्ममा काठमाडौंमा १७ जना र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भइसकेको छ भने उल्लेख्य संख्यामा गम्भीर घाइते छन् । निहत्था नागरिकको हत्या गर्ने सरकारको प्रमुख भएर कुर्सीमा बस्ने अधिकार केपी शर्मा ओलीलाई छैन । तसर्थ यथाशिघ्र प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा देउ ।
नागरिकले विमति राख्ने अधिकार लोकतन्त्रको गहना हो । नागरिकले जिम्मेवार भएर असहमति राख्ने वातावरण बनाउनु राज्यको जिम्मेवारी हो । नागरिक स्वयम् पनि जिम्मेवार भएर आफ्ना अधिकारको माग गर्ने, सरकार र सार्वजनिक सरोकारका विषयमा विरोध प्रदर्शन गर्नुपर्छ । बिडम्बना भन्नुपर्छ २०६२/६३ को जनआन्दोलनपछि कै दुखद् घटना सोमबार दुर्घटित भयो । २०६३ भन्दा पछि जन्मिएको पुस्ताले मुलुकमा व्याप्त भ्रष्ट्राचार र राजनीतिक दलका नेताहरुको परिवारवाद विरुद्ध प्रदर्शन गर्दै गर्दा देशभर प्रदर्शनमा सरकारको दमन निन्दनीय छ ।
काठमाडौंमा सोमबार बिहान पूर्वघोषित कार्यक्रमअन्तर्गत २८ वर्ष भन्दा कम उमेर समूहका वर्तमान सूचना प्रविधिमार्फत विश्व समुदायलाई नजिकबाट हेरिरहेका युवा पुस्ताले सरकार विरुद्ध प्रदर्शन गर्न सडकमा उत्रिएका थिए । सोमबारको प्रदर्शनको योजनालाई लिएर काठमाडौंका सञ्चार माध्यमले गम्भीरताका साथ आइतबार साँझदेखि सरकारलाई झक्झकाउने प्रयास गरिरहेको थियो । तर, सरकार जेन जी पुस्तालाई बेवास्ता मात्रै होइन हेपेर अभिव्यक्ति दिइरहेको थियो ।
अन्ततः सोमबार शुभ रहेन । सूचना प्रविधिको युगको युवा पुस्ताले सक्दो प्रयास गर्दै आन्दोलनमा बढीभन्दा बढी सहभागी उतार्ने प्रयत्न गरेको देखिन्छ । वर्तमान राजनीतिक नेतृत्वप्रति निराश हुँदै, चरम भ्रष्ट्राचारबाट आजित हुँदै सरकारको विरुद्धमा उत्रिएको जेन जी पुस्ताले पहिलो दिन नै ठूलो क्षति व्यहोर्नु पर्यो । सोमबारको दुर्घटना २०६२/६३ को जनआन्दोलनपछि कै ठूलो दुर्घटना हो । यत्तिको ज्यान जाने गरी राज्य पक्षले आफ्नो शक्तिको दुरुपयोग गरेको घटना छैन । यद्यपि सरकारको प्रमुख केपी शर्मा ओली घुसपैठ भएको भन्दै पदासिन छन् ।
जेन जी पुस्ताको प्रदर्शनलाई संयमित ढंगबाट सम्बोधन गर्न सरकारको आधारभूत तयारी समेत देखिँदैन । युवा पुस्ताले गरेको प्रदर्शनबाट आत्तिएर प्रहरी प्रशासनले निहत्था नागरिकमाथि कायरतापूर्ण तरिकाबाट गोली वर्षायो । घटना लगत्तै गृहमन्त्री रमेश लेखकले राजिनामा दिएर नैतिकता त देखाए तर यो घटनामा निहत्था नागरिकको ज्यानको दोषी गृहमन्त्रीलाई दण्डित समेत गरिनु जरुरी छ । गृहप्रशासनको कमजोरीकै कारण निहत्था नागरिकको ज्यान गयो । १९ जना नागरिकको ज्यान जाँदै गर्दा प्रहरीतर्फ क्षति नहुनु भनेको प्रहरी दमनलाई पुष्टि गर्नु हो । यसो भनिरहँदा प्रहरी, प्रशासनतर्फ पनि क्षति हुनुपर्छ भन्ने पक्कै होइन । यसर्थ सरकार प्रमुखको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पहिलो सर्त हो भने यो घटनाको गम्भीर अनुसन्धान गरेर आवश्यकताअनुसार प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, प्रहरी प्रमुखदेखि गोली प्रहार गर्ने प्रहरीसम्मलाई दण्डित गर्नुपर्छ । नागरिककै प्रतिनिधि बनेर, नागरिककै लगानीमा सञ्चालित सरकारले नागरिककै हत्या गर्ने प्रवृत्तिको अन्त्यको पनि सुनिश्चितता खोजिनु जरुरी छ ।











