Home मुख्य समाचार जेन जेड युवा समूहले हेटौँडामा पनि आन्दोलन गर्ने

जेन जेड युवा समूहले हेटौँडामा पनि आन्दोलन गर्ने

हेटौँडा : सामाजिक सञ्जालमा भएको अवरोध र मुलुकमा बढ्दो भ्रष्ट्राचार बिरुद्ध हेटौँडामा पनि जेनेरेसन (जेन) जेड युवा समूहले स्वतः स्फुर्त रुपमा आन्दोलन गर्ने भएका छन् । सेप्टेम्बर ८ अर्थात भदौ २३ गते सामाजिक सञ्जालमा आन्दोलनको घोषणा भएसँगै काठमाडौं लगायत देशका विभिन्न शहरहरुमा आन्दोलन हुन लागेको हो ।

सोमबार हेटौँडाका तीन स्थानबाट समूहहरु आन्दोलनमा सहभागी हुने सागर लामिछानेले बताउनुभयो । हेटौँडा उपमहानगरपालिका पूर्वमा र्‍याली शुरु गरेर मनकामना चोक हुँदै सानोपोखरा चोक, भैरवरोड हुँदै हुप्रचौर, मेनरोड हुँदै बुद्धचोकमा सभा गरिने आयोजक युवाहरुले जनाएका छन् । आन्दोलनमा कुनै पनि संघ, संस्था वा राजनीतिक दलका चिन्ह वा झन्डा प्रयोग गर्न नपाइने गरी कार्यक्रम तय भएको छ । आन्दोलन मार्फत सबै राजनीतिक नेतृत्वहरुको सम्पतिको निष्पक्ष छानबिन गर्नुपर्ने, नेताहरुलाई राजीनामा दिन लगाउने र भ्रष्ट्राचारी प्रमाणित भएकालाई कानुन बमोजिम कारबाही गर्न माग रहेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

देशका युवाले चाहेको भ्रष्ट्राचारमुक्त समाज, युवा लक्षित शासन लगायतका अपेक्षा सरकारले चासो नदेखाएको जेनेरेसन जेड युवा समुहको आरोप छ । उनीहरुले केही दिनदेखि टिकटक लगायतका सामाजिक सञ्जालमा दलका नेता र उनीहरुका बालबच्चाहरुको जिवनशैली र सामान्य न्युन आय भएका जनताको जिवनशैली प्रस्तुत गर्दै गरिब जनताको आयकरबाट मोटाएका नेपोकिड ट्रेन्डिङ चलाइरहेका छन् । सन् १९९६ देखि सन् २०१२ भित्र जन्मिएका व्यक्तिहरुलाई जेनेरेसन जेड भनेर संसारभर चिनिन्छ ।

Exit mobile version