हेटौँडा : बागमती प्रदेश सरकारका प्रमुख सचिव भुपाल बरालले निजामती सेवा दिवस भदौ २२ गते मात्रै नभई वर्षका ३ सय ६५ दिन नै दिवस मानेर जनताका काम गर्नुपर्ने बताउनुभएको छ । निजामति सेवा दिवसको अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचिव बरालले सधैं निजामति दिवस जस्तै गरी सेवा प्रदान गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले निजामती कर्मचारीमाथि काममा ढिलासुस्ती गर्ने लगायतका आरोप लाग्ने गरेको भन्दै जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न र जवाफदेही भएर काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । २२ औं निजामती दिवसको अवसरमा बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आइतबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको थियो । ‘निजामति सेवा व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ निजामित सेवा दिवस मनाइएको हो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा भेला भई शुरु भएको प्रभातफेरी स्कुलरोड, सिमाचोक, बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ चोक, लोकप्रिय चोक, नगरपालिका रोड, अड्डा मार्ग हुँदै मुख्यमन्त्री कार्यालय परिसरमा पुगी समापन भएको थियो ।
प्रभातफेरीमा ॐ मनोहरेश्वर महादेव खैजडी समुहको खैजेडी बाजाको प्रस्तुति समेत रहेको थियो । प्रभातफेरीमा बागमती प्रदेश सरकारका सचिवहरु, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
