Home मुख्य समाचार विश्व स्वच्छ वायू दिवस, वायू प्रदुषणले वर्षेनी ४२ हजारको मृत्यु

विश्व स्वच्छ वायू दिवस, वायू प्रदुषणले वर्षेनी ४२ हजारको मृत्यु

वायू प्रदूषण मापन सेन्सर नगरप्रमुख लामालाई हस्तान्तरण गर्नुहुँदै वातावरणविद् भुषण तुलाधर ।

हेटौँडा : स्वच्छ ऊर्जा नेपालले हेटौंडा उपमहानगरपालिकाको सरोकारवाला निकाय र युवाहरुका लागि वायू गुणस्तर मापन सम्बन्धी १ दिने तालिम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा आइतबार विश्व स्वच्छ वायू दिवसको अवसरमा पालिकाको सभाहलमा तालिम सञ्चालन भएको हो ।

तालिममा नगर प्रमुख लामासहित हेटौँडा उपमहानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वातावरण इन्जिनियर चन्दा खड्का, वातावरणविद् भुषण तुलाधार, प्रतिक राउत, हरिश ठगुन्ना, सावित्री आचार्य, अस्मिता पौडेल, प्रसुज मैनाली लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।

तालिममा वायू गुणस्तर मापन गर्ने तरिकाबारे भुषण तुलाधारले जानकारी दिनुभयो । वायू प्रदूषणका कारण, असर, मानव जीवनमा यसको प्रभाव र न्यूनीकरण गर्ने विषयमा पनि चर्चा भएको थियो । स्टेट अफ ग्लोबल एयर २०२४ का अनुसार नेपालमा हरेक वर्ष करिब ४२ हजार १ सय जनाको असामयिक मृत्यु वायू प्रदूषणका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य बाहेक प्रदूषित वायूले देशको दिगो विकासमा समेत नकारात्मक असर पारेको वातावरणविद् तुलाधारले बताउनु भयो ।

स्वच्छ ऊर्जा नेपालले स्वच्छ हावा परियोजना अन्तर्गत सात वटै प्रदेशको राजधानीसहित भरतपुर, वीरगंज र सिद्धार्थनगर गरी नेपालका प्रमुख १० सहरमा वायू गुणस्तर मापन सेन्सर जडान गर्न लागेको वातावरणविद् तुलाधारले जानकारी दिनुभयो । तीव्र शहरीकरण र खुल्ला फोहोर जलाउने अभ्यासले वायू प्रदूषण बढिरहेको र यसले विकराल रुप लिने सम्भावना रहेको छ । त्यसैले सामुदायिक सहभागिता बढाउँदै यस्तो खतरा टार्न स्वच्छ हावा परियोजना ल्याएको उहाँको भनाइ छ ।

स्वच्छ हावा परियोजना अन्तर्गत स्वच्छ ऊर्जा नेपालले वायू प्रदूषण मापन सेन्सर दुई थान नगरप्रमुख लामालाई हस्तान्तरण गरेको छ । जसमध्ये एउटा सेन्सर हेटौँडा औद्योगिक क्षेत्रभित्र उद्योग संघको भवनमा र अर्को सेन्सर पालिकाको कार्यालय परिसरमा जडान गरिएको छ । यस सेन्सरले हावामा धुलोको कण पिएम २.५ मापन गर्नेछ । यसबाट १२ महिनासम्म निरन्तर रुपमा तथ्यांक संकलन हुने र सर्वसाधारणले पनि हेर्न सक्ने स्वच्छ ऊर्जा नेपालको प्रादेशिक संयोजक निश्चल ढुङ्गनाले बताउनु भयो ।

आफूहरुसँग मापन गर्ने उपकरण नहुँदा वातावरण प्रदूषित उद्योगहरुलाई कानूनी रुपमा करवाही गर्न नसकेको हेटौँडा उपमहानगरपालिका वातावरण इन्जिनियर चन्दा खड्काले बताउनु भयो । वायू प्रदूषण र फोहोर व्यवस्थापनको सम्बन्धमा पालिकाको पनि कमि कमजोरी रहेको उहाँले स्विकार्नु भयो । सेन्सर जडान भइसकेपछि त्यस्ता गल्तीहरु नदोहोरिने, प्रदूषण गर्नेलाई कानूनी करवाही गर्ने उहाँले बताउनु भयो ।

Exit mobile version