हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा ३१८औँ साहित्य श्रृङ्खला तथा कविता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको बकैया गाउँपालिका–५ स्थित कर्मप्राप्ति माविमा शनिबार आयोजना भएको कार्यक्रममा कर्मप्राप्ति माध्यमिक विद्यालय र नजिकै रहेको माटोकोरी आधारभूत विद्यालयका गरी ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
कर्मप्राप्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका कोषाध्यक्ष अजर फुयाँल र सदस्य स्वस्तिका दाहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता झरना–कर्मप्राप्ति बाल साहित्य समितिका अध्यक्ष निश्चल वाइबाले गर्नुभएको थियो ।
साथै झरना साहित्यिक परिवार मकवानपुरले स्वागत तथा परिचयात्मक कार्यक्रम पनि आयोजना गरेको छ । बकैया गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत विनोद पोखरेललाई स्वागत गर्ने औपचारिक कार्यक्रमको प्रमुख आतिथ्य गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गर्नुभएको थियो भने उपाध्यक्ष भक्तबहादुर खत्री, गाउँपालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, प्रशासकीय प्रमुख विनोद पोखरेल र झरनाका संरक्षक रमेशमोहन अधिकारीको विशेष आतिथ्य रहेको थियो । झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रूपाखेतीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
झरनाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतलाई बधाई तथा स्वागत गरेको छ भने गाउँपालिकाले पनि नवगठित झरनाको कार्यसमितिलाई स्वागत गरेको छ । कार्यक्रममा झरनाको आगामी कार्यक्रम तथा भवन निर्माणका बारेमा समेत छलफल भएको थियो । बकैया गाउँपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, बुद्धिजीवीहरू लगायत उपस्थित कार्यक्रममा वाङ्मय प्रतिष्ठान सम्बन्धी समेत छलफल भएको थियो । झरना साहित्यक परिवारले हरेक महिना विविध खालका साहित्यिक गतिविधिहरू आयोजना गर्दै आएको छ ।











