हेटौंडाः पत्रकार बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शोक व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले दुख व्यक्त गरेको छ ।

कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकको रुपमा कार्यरत बानियाँ साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएको थियो । उहाँकोे शव मकवानपुरको भीमफेदी गाउँपालिका ८ नम्बर वडा सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजनाको हेड बक्स बकेटमा हिजो मंगलबार बिहान भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रमेश विष्टले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

विगत तीन दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील बानियाँले पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछौं ।’