हेटौंडा : रोटरी क्लब अफ हेटौंडाले अपांगता भएका महिलाहरुका लागि सीप विकास कार्यक्रम सञ्चालन गरेको छ । क्लबले ‘समान अधिकार, समान अवसर सबैका लागि’ भन्ने नाराका साथ अशक्त महिलाहरुका लागि अचार बनाउने तथा वित्तीय साक्षरता सम्बन्धी सशक्तीकरण कार्यक्रमको आयोजना गरेको हो ।
एडसन, द रोज ईन्टरनेशनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन र रोटरी क्लब अफ हेटौंडाले संयुक्त रुपमा तालिम सञ्चालन गरेको हो । शुक्रबार भैरवरोड स्थित ग्रामीण महिला सेवा केन्द्रको सभाहलमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो । १० दिनसम्म चल्ने तालिममा प्रशिक्षक सुचना पराजुली रहनुभएको छ । सीप तथा अवसरहरु प्रदान गर्दै अशक्त महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष प्रमेश प्रधानले बताउनु भयो ।
तालिममा विभिन्न तरकारी तथा फलफूलबाट आचार बनाउने सीप सिकाउनुका साथै वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिने छ । तालिम पश्चात उत्पादनलाई बजारसम्म कसरी पुर्याउने, प्याकेजिङ र ब्रान्डिङ सम्बन्धी जानकारी पनि प्रदान गरिने छ । सहभागी महिलाहरूलाई बैंक खाता खोल्ने प्रक्रिया, बचत गर्ने तरिका, सानो लगानीलाई कसरी वृद्धि गर्ने, ऋण व्यवस्थापन, आय–व्यय अभिलेख राख्ने लगायतका विषयमा जानकारी दिइने अध्यक्ष प्रधानले बताउनु भयो ।











