हेटौंडाः नेपाल शिक्षक महासंघको आन्दोलन परिचालन समितिले राज्यले शिक्षकसँग गरेको सहमति कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका प्रमुखसमक्ष ध्यानाकर्षणपत्र बुझाउदै यस्तो चेतावनी दिइएको हो ।
महासंघले विसं २०७५, २०७८ र २०८० मा आन्दोलनकै बलमा गरेको ३० बुँदे, ५१ बुँदे र ६ बँुदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । महासंघको नेतृत्वमा भएको एक महिना लामो आन्दोलनपश्चात् गत बैशाख १७ गते संघीय मन्त्रिपरिषद्ले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेपछि आन्दोलन रोकिएको भए पनि समयभित्र पारित नगरेको आरोप लगाइएको छ । मन्त्रिपरिषद्ले गरेको ९ बुँदे निर्णय पनि कार्यान्वयनमा ल्याउन नसकेको महासंघको भनाइ छ ।
शिक्षक आन्दोलनमार्फत् निर्णय गरिएका आन्तरिक परीक्षाम ७५ प्रतिशत पदपूर्ति गर्ने सहमति समावेश नगरेको, गोल्डेन हेन्डसेकअन्तर्गत दिइने रकम किटान नगरिएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, निवृत्तिभरणका लागि अस्थायी अवधिको गणना नहुने इत्यादि मागहरु पूरा नभएकाले पुनः आन्दोलनको कार्यक्रम घोषणा गरिएको महासंघले जनाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल राहत शिक्षक समिति र नेपाल विद्यालय कर्मचारी परिषद्को संयुक्त हस्ताक्षरित ध्यानाकर्षणपत्रमा अहिले प्रचारात्मक आन्दोलन भइरहेको उल्लेख गरिएको छ । शिक्षकका मागहरु सुनुवाई नभए भदौ २१ गतेबाट दोस्रो चरणको आन्दोलनमा जाने हेटौंडा उपमहानगरपालिका आन्दोलन परिचालन समितिका संयोजक कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार शिक्षा विकास तथा समन्वय इकाईमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम तोकिएको छ ।











