हेटौंडा : नेपाल शैक्षिक परामर्श समिति (इक्यान) मकवानपुरले हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रबार इक्यानको २९ औ वार्षिक उत्सवको अवसरमा हेटौंडा अस्पतालमा भर्ना भएर रहेका बिरामीलाई फलफूल वितरण गरेको इक्यानका अध्यक्ष बेलुप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
इक्यान मकवानपुरले अस्पतालमा भर्ना भएर उपचार गराइरहेका एक सयभन्दा धेरै बिरामीहरुलाई अम्बा, स्याउ, केरा, अनारलगायतका फलफूल र जुस वितरण गरेको हो । कार्यक्रममा हेटौंडा अस्पतालका सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा हेटौंडा अस्पतालका कर्मचारी युनियनका अध्यक्ष हीरा लामा, इक्यान मकवानपुरका अतिरिक्त क्रियाकलाप संयोजक दीपेन्द्र श्रेष्ठको आतिथ्य रहेको थियो । वार्षिक उत्सवकै अवसरमा अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । अन्तरक्रियामा इक्यानका विषयमा छलफल भएको थियो ।










