हेटौँडा : हेटौँडा–११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७औं स्थापना दिवसको अवसरमा हेटौँडा–२ स्थित ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । आइतबार बिहान सहकारीका अध्यक्ष फूलमान श्रेष्ठको नेतृत्वमा सहकारीका पदाधिकारी आश्रममा पुगेर खाद्यान्न सामग्री सहयोग गरेको हो ।
स्थापना दिवसकै अवसरमा सहकारीले आज साँझ दीप प्रज्ज्वलन गर्ने व्यवस्थापन राजेश श्रेष्ठले जानकारी दिनुभयो । २ हजार ४ सय २२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै सहकारीको बचत २४ करोड रुपैयाँ र ऋण लगानी १७ करोड ४१ लाख रुपैयाँ रहेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
