हेटौँडा : हेटौँडा–४ हुप्रचौरमा मेड क्रिक सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले प्रतियोगिताको आयोजना गरेका हुन् । शुक्रबार दिउँसो प्रतिष्ठानको उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्य तथा रेक्टर प्रा.डा. दिनेश कुमार लम्सालको विशेष आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

उद्घाटन खेलमा भाईटल एज वारियरले पारामेडिक्सलाई ११३ रनले हराएको छ । टस जितेर व्याटिङ् रोजेको वारियरले १२ ओभरमा ४ विकेट गुमाएर १५९ रन जोडेको थियो । जवाफी ब्याटिङ्मा पारामेडिक्सले ११.२ ओभरमा ४६ रनमै अलआउट भयो । वारियरका लागि सरोज यादवले ११ बलमा ४४ रन जोड्दा बलिङ्गतर्फ पनि ३ ओभरमा ६ रन दिएर ३ विकेट लिएका थिए । त्यसैगरी पारामेडिक्सका लागि बशिष्ट यादव र दिभान्सु भण्डारीले ३/३ ओभर बलिङ्ग गर्दै समान २/२ विकेट हात पारेका थिए ।

दोस्रो खेलमा क्रिकोप्याथी क्रियुले मेडिकोस वारियरलाई डक वर्थ लेविस पद्दति अनुसार १५ रनले पराजित गरेको छ । सुरुमा ब्याटिङ् गरेको मेडिकोस वारियरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८७ रन जोडेको थियो । जवाफी ब्याटिङ्मा क्रिकोप्याथीले ७.३ ओभरमा ३ को नोक्सानीमा ८७ रन जोड्दै जित हासिल गर्‍यो । वारियरका लागि भाग्यरथ यादवले सर्वाधिक ३७ रन जोड्दा बलिङ्गतर्फ युवराज कुमार बिकेले ३ विकेट हात पारेका थिए । क्रिकोप्याथीका लागि नौसाद अन्सारीले अजीवित २७ रन बनाउँदा मिरसाद अन्सारी र ज्ञानेन्द्र यादवले समान ३/३ विकेट हात पारेका थिए । प्रतियोगितामा प्रतिष्ठानमै अध्ययनरत विद्यार्थीहरुको चार ओटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा कुल १२ ओटा खेल खेलाइने छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदेश सरकारको सहयोगमा खेलकूद सप्ताह मनाउँदै आएको छ । तर यो प्रतियोगिता सो कार्यक्रमभन्दा बाहिर रहेको र विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका कर्मचारीहरुको सहयोगमा पहिलो पटक आयोजना भएको प्रतिष्ठानकै ल्याब तथा मेडिसिन विभागका विभाग प्रमुख तपेश्वर यादवले जानकारी दिनुभयो । अगामी सिजनमा अन्य मेडिकल कलेजहरुलाई पनि प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको यादवको भनाइ छ ।