हेटौंडाः मकवानपुर जिल्लाका झण्डै १ सय जनामा कोरोना पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मकवानपुर जिल्लामा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्र मकवानपुरमा थप १४ जनामा कोरोना पुष्टि भएको थियो । मकवानपुर जिल्लामा पछिल्लो समय ह्वात्तै कोरोना सङ्क्रमण बढ्नुको स्रोतको रुपमा मुख्य तिन कुरालाई लिइएको छ ।

पहिलो तराईका जिल्लाहरुमा मकवानपुरका नागरिकहरुको भ्रमण बढी हुनु, दोस्रो तराईका जिल्लाहरुबाट मकवानपुरका अस्पतालहरुमा उपचार गराउन आउनेको संख्या बढ्नु र बाहिरी जिल्लाबाट आएर उद्योगमा काम सुरु गरेका कामदारहरु सबैको कोरोना परिक्षण हुन नसक्दा जिल्लामा कोरोनाको सङ्क्रमण बढेको हुन सक्ने आंकलन गरिएको हेटौंडास्थित कोरोना आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो ।