हेटौँडा : हेटौंडा–ललितपुर जोड्ने कान्ति लोकपथ सडक पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध भएको हो ।
वर्षासँगै गएको पहिरो खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भर्याङडाँडामा पर्ने कान्ति लोकपथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार साँझ ५ बजेको समयमा उक्त स्थानमा सडक माथिबाट ठूलो मात्रामा ढुंगा, माटोसहित पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक विद्यासागर मेहताको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गर्दै बाटो खुलाउने प्रयास गरिरहेको छ । लगातार पानी परिरहेकोले तत्काल बाटो खुलाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
पहिरोका कारण सवारी साधनहरु दुबैतर्फ रोकिएको उहाँले जानकारी दिनुभयो । सडक सुचारु गर्ने प्रयास जारी रहेको र मौसममा सुधार आएलगत्तै पहिरो पन्छाउने काम अघि बढाउने उहाँले बताउनुभयो ।
