हेटौँडा : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–५, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बिहान ६ बजेको समयमा धुलिखेलबाट पाँचखालतर्फ गइरहेको ना ७ ख ७२१४ नम्बरको भुसा लोड भएको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घाइते हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेल थिए । रुपेशलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहान ६ बजेर ४७ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।