बहसमा सहभागी नेताहरु ।

हेटौंडा : तिज पर्वलाई तडकभडक नबनाई सभ्य तरिकाले मनाउन जोड दिइएको छ । समाजसेवा हुनेगरी तिज मनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । अखिल नेपाल महिला संघ मकवानपुरको आयोजनामा सोमबार भएको तिज पर्वसम्बन्धी बहस कार्यक्रमका सहभागीहरुले तिज पर्वलाई तडकभडक नबनाई मानवता र आत्मीयताका भाव प्रकट गर्दै मनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले महिलाहरुको विशेष पर्व भएका कारण यसलाई भड्किलो कार्यक्रम नगरी ज्ञान र समस्या साटासाट गर्ने अवसर बनाउनुपर्ने बताउनुभयो । अखिल नेपाल महिला संघकी केन्द्रीय स्थायी कमिटी सदस्य पद्मा पौडेलले तिजलाई सकेसम्म साधारण तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आजकाल हरेक संघसंस्था तथा समूहहरुले दर खुवाउने नाममा महिनौंदेखि भोज गरेर अनावश्यक कार्यक्रम गर्ने गरेको भन्दै दर कार्यक्रममा खर्च गर्ने रकम महिलाका सिप तथा उद्योगमा लगानी गरे उपलब्धि हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले वर्तमान परिप्रेक्ष्यमा तिजमा भोजभतेर तथा तडकभडक गर्नुभन्दा महिलाका सिप विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिएका छन् । तिजलाई समाजसेवा गर्ने अवसर बनाउन सकिने पनि वक्ताहरुले बताएका छन् । पहिलेको समयमा तिज महिलाहरुले जिम्मेवारीबाट आराम पाउने, लाउने, खाने र मनोरञ्जन लिने चाडको रुपमा मनाउँदै आए पनि महिलाको बदलिँदो परिस्थितिमा सोही परिस्थितिअनुसार परिस्कृत गर्दै मनाउनुपर्ने सहभागीहरुले जोडदिएका छन् ।

अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय तथा बागमती प्रदेशस्तरीय नेताहरु, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरुलगायत विभिन्न भातृसंगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।