हेटौंडा : साहित्य संगम मकवानपुरलले ३६ औँ सन्ध्या दिवस मनाएको छ । विसं २०४४ सालमा विधिवतरुपमा स्थापना भएको साहित्य संगम मकवानपुरले २०४७ भदौ २ गतेबाट हरेक वर्ष सन्ध्या दिवस मनाउँदै आएको छ ।
सोमबार सन्ध्या दिवसको अवसरमा साहित्य संगम मकवानपुरले लिएको बाटो र अगामी योजना विषयक बहस कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । सन्ध्या दिवसको अवसरमा साहित्यकार राजुराम राउतलाई सम्मान गरिएको छ ।
साहित्य संगम मकवानपुरका सल्लाहकार तुलसी घिमिरेको प्रमुख अतिथ्यतामा भएको बहस कार्यक्रममा संगमका पूर्वअध्यक्ष निमेष निखिल र सुवास खनालका साथ साहित्य संगम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला वक्ताको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण मनोज पोखरेल गर्नुभएको थियो ।
साहित्य संगम मकवानपुरले हरेक महिनाको दोेस्रो शनिबार साहित्य सन्ध्या आयोजना गर्दै आइरहेको छ । संगमले आयोजना गर्ने साहित्य सन्ध्यामा बढी उपस्थितिको आधारमा सन्ध्या दिवसको अवसरमा सम्मान गरिन्छ । कार्यक्रमको अन्त्यमा बहसमा सहभागी वक्ताहरु एवम् सहजकर्तालाई कार्यक्रमका प्रमुख अतिथि घिमिरेले कदरपत्र प्रदान गर्नुभएको थियो ।











