हेटौँडा : नारायणी यातायात व्यवसायी संघले यातायात व्यवसायी मजदुरका लागि दुर्घटना बीमाको सुरुवात गरेको छ । संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुर्घटना बीमा सुरुवात गरेको जानकारी दिएको हो ।
दुर्घटना बीमाका लागि संघले यातायात व्यवसायी बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्य गरेको छ । सहकारी संस्था तथा व्यवसायी संघले संयुक्त रुपमा दायित्व बहन गरी श्रमिक तथा सवारी धनीमाथि प्रिमियमको कुनैपनि दायित्व नरहने गरी दुर्घटना बीमा कार्यक्रम गरेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिनुभयो । बीमा कार्यक्रमले नारायणी यातायात व्यवसायी संघका सदस्य व्यवसायीको १० लाख रुपैयाँ, चालक तथा सहचालकको ५ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको संघले जनाएको छ । हाल ८ हजार सवारी साधन आवद्ध संघले विशेषगरी संघका बस तथा ट्रक चालक तथा सहचालकलाई लक्षित गरी बीमा कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बीमाको पहिलो प्रिमियम रकमको रुपमा संघका अध्यक्ष हिरालाल श्रेष्ठले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनिको क्षेत्रीय प्रबन्धक मच्छिन्द्र बोगटीलाई १ लाख ७९ हजार ३ सय २ रुपैँया ८२ पैसा बराबरको चेक हस्तान्तरण गर्नुभयो । यस्तै कम्पनीको तर्फबाट पनि बीमालेख संघलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बद्रिप्रसाद चौलागाई, यातायात व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुणराज घिमिरे, संघका उपाध्यक्ष विष्णु विडारी लगायत संघका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता थियो ।











