हालै फुटबल स्टेडियम निर्माण सम्पन्न गरेको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालनका लागि गाउँपालिकाले खेलाडी छनोट सुरु गरेको छ । राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको बागमती गाउँपालिकाले व्यावसायिकरुपमा खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी सञ्चालनको तयारी सुरु गरेको हो । पालिकाले प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेर समूहका खेलाडीहरु छनोट सुरु गरेको हो । एकेडेमी सञ्चालन गर्न महिला र पुरुष दुबैका लागि भवनसमेत तयार पारिरहेको छ । एक सय ५० जना क्षमताको एकेडेमी भवन निर्माणको अन्तिम चरणमा रहेको छ । खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आइरहेको पालिकाले व्यावसायिकरुपमा खेलाडी तयार पार्ने भएको हो ।
नेपालसहित विश्वभर नै फुटबल सबैभन्दा लोकप्रिय खेल मानिन्छ । पछिल्लो समय फुटबल खेलमा पनि व्यावासायिक खेलाडीहरु त्यार भइरहेका छन् । शहीदस्मृति राष्ट्रिय लिग तथा देशका विभिन्न भागमा सञ्चालन हुने गोल्डकप प्रतियोगिताहरुमा स्वदेशी तथा विदेशी खेलाडीले व्यावसायिकरुपमा खेल खेल्ने गरेका छन् । विभिन्न क्लब तथा टिमले निश्चित खेलका लागि खेलाडीहरु किन्ने प्रचलन बढ्दै गएको छ । राष्ट्रिय टिममा छनोट हुने खेलाडीहरुका लागि पनि सरकारले निश्चित पारिश्रमिक दिने गरेको छ । राम्रो खेल कौशलको विकास गर्ने खेलाडीले फुटबल खेलेर नै जीविकोपार्जन गर्नसक्ने आधार तयार हुँदै गएको छ ।
कुनै पनि खेलका लागि खेलाडी तयार गर्ने काम सबैभन्दा महत्वपूर्ण हुन्छ । विद्यालय तहदेखि नै खेलाडी उत्पादनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभिन्न ठाउँमा एकेडेमी सञ्चालन गर्दै आइरहेको भए पनि तीन तहको सरकारको ध्यान यसतर्फ खासै गएको पाइँदैन । देशमा संघ, प्रदेश र स्थानीय गरी ७ सय ६१ वटा सरकार छ । प्रत्येक सरकारले आ–आफ्नो तहमा एक–एक वटा एकेडेमी सञ्चालनमा ल्याउने हो भने धेरै खेलका थुप्रै खेलाडी तयार गर्न सकिन्छ । फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, बक्सिङ, कराँते, तेक्वान्दो, उसु, रग्बी, कबड्डी, खो खो, टेबलटेनिस, ब्याडमिन्टन, पौडी, आर्चरीजस्ता थुप्रै खेलमध्ये कुनै एउटा खेलको व्यावसायिक खेलाडी तयार गर्ने गरी स्थानीय सरकारले एकेडेमी सञ्चालन गर्ने हो भने देशले सबै खेलका कुशल खेलाडी पाउन सक्छ ।
बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी गरिरहँदा अरु स्थानीय तहले पनि यसबाट सिक्नु आवश्यक छ । आ–आफ्नो क्षेत्रमा भएका सम्भावना तथा बालबालिकाको रुचिअनुसार एउटा स्थानीय सरकारले कुनै एउटा खेलको व्यावसायिक खेलाडी उत्पादन गर्नेगरी एकेडेमी सञ्चालन गर्नु आवश्यक छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा कम्तिमा एउटा खेलको व्यावसायिक खेल खेल्न मिल्ने खेल पूर्वाधार र एउटा एकेडेमी सञ्चालन गर्ने र प्रदेश तथा संघीय सरकारले ती खेलहरुका प्रतियोगिताहरु सञ्चालन गर्ने हो भने एक दशकभित्रै देशमा दर्जनौं खेलका हजारौं व्यावसायिक खेलाडी तयार हुने निश्चित छ । देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र देशभित्रै खेल पर्यटनको विकास गर्न पनि यसले सहयोग पुग्न सक्छ ।










