हेटौँडा : हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले वदनियतपूर्ण तरिकाबाट जग्गा दर्ताको सिफारिस गरेको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयस्थित स्क्रिनिङ समितिले अनुसन्धान थाल्न आयोगको हेटौँडास्थित कार्यालयलाई निर्देशन दिएको छ ।
वडाध्यक्ष न्यौपानेले रैती लिखतकै भरमा काठमाडौं निवासी मनोज राणाको आमा विजया राणाको नाममा दर्ता हुनुपर्ने जग्गा अनधिकृतरुपमा वारेसमार्फत तेस्रो पक्षलाई बिक्री गरिएको भन्दै सो जग्गा दर्ता गराउन भनी मालपोत कार्यालय मकवानपुरलाई लेखेको पत्रका विषयमा स्क्रिनिङ समितिले अनुसन्धान गर्नुपर्ने निर्णय गर्दै अनुसन्धान थाल्न आयोगको हेटौँडास्थित कार्यालयलाई निर्देशन दिएको छ । आयोगको हेटौँडास्थित कार्यालयका एक अधिकृतकाअनुसार हालै स्क्रिनिङ समितिको निर्देशन प्राप्त भएको जानकारी दिए । ती अधिकृतले अब आयोगले सम्बन्धित कार्यालयहरुसँग कागजात माग गरेर अध्ययन थाल्ने स्पष्ट पारेका छन् ।
वडाध्यक्ष न्यौपानेले वदनियतपूर्वक जग्गा दर्ताका लागि सिफारिस गरेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयले आवश्यक अनुसन्धान गरेर स्क्रिनिङ समितिमा प्रतिवेदन पठाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको संयोजकत्वमा स्क्रिनिङ समिति रहन्छ । उक्त समितिले अनुसन्धान तथा अभियोजनका आधारहरु अध्ययन गरी थप कारवाहीको प्रक्रिया अगाडि बढाउन हेटौँडास्थित कार्यालयलाई निर्देशन दिनेछ ।
वडाध्यक्ष न्यौपानेले वदनियतपूर्ण तरिकाबाट काठमाडौं–११ की स्वर्गीय विजया राणाको नाममा रहेको रैती लिखतका आधारमा विजया राणाका छोरा मनोज राणाको नाममा दर्ता हुनुपर्ने जग्गा वारेसको मागबमोजिम तेस्रो पक्षलाई विक्री गर्ने गरी वडाले एकैदिन १८ जनाको नाममा सिफारिस लेखेको छ । वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा जग्गा दर्ता गरिदिन मालपोत कार्यालय मकवानपुरलाई सिफारिस लेखेको छ भने २०८१ साल पुस १६ गते थप ६ जनाको नाममा जग्गा दर्ता गर्न वडाले सिफारिस गरेको छ ।
वडाध्यक्ष न्यौपानेले भने मनोज राणाको वारेसको मागअनुसार जग्गा दर्ता गर्ने विषयमा आवश्यक कार्य गर्न मालपोत कार्यालय मकवानपुरलाई सामान्य सिफारिस मात्रै लेखेको जीकिर गर्नुभएको छ । उपमहानगरपालिकाका कानूनी सल्लाहकारसँग आवश्यक परामर्श गरेर जग्गा दर्ताका लागि सिफारिस लेख्न सकिन्छ भन्ने रायअनुसार नै आफूले सिफारिस दिएको पनि वडाध्यक्ष न्यौपानेको भनाइ छ ।
रैती लिखतका आधारमा आवश्यक प्रक्रिया पूरा गरी रैती लिखत भएको व्यक्ति वा उसको शेषपछि हकवालाको नाममा दर्ता हुने जग्गा बारेसले विक्री गर्ने गरी लेनदेन समेत गरेको अवस्थामा बारेसको माग बमोजिम नै अनधिकृत दर्ताको सिफारिस लेख्नु, एकैदिन १८ जनालाई सिफारिस लेख्नुले वडाध्यक्षको वदनियत भएको देखिन्छ ।











